• २०८१ बैशाख ४ मंगलबार

लुम्बिनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुन्छ : मुख्यमन्त्री पोखरेल

kharibot

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बनी भ्रमण वर्षले पर्यटन विकासको आधार तयार हुने बताएका छन् ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको तयारी सम्बन्धमा छलफल गर्न आज बुटवलमा बसेको मूल समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा लुम्बिनी र बुद्ध सर्किटबारे पर्यटकलाई बुझाउन सके पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताए । उनले भने, “अहिले हामीले लुम्बिनीलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छौँ, पर्यटकलाई आकर्षण गर्न पहिलेभन्दा लुम्बिनी फरक देखिनुपर्छ ।” मुख्यमन्त्री पोखरेलले पुरातात्विक र सांस्कृतिक हिसाबले लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रका सम्पदा अभूतपूर्व रहेकाले प्रचारप्रसार जरुरी रहेको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सबैको साथ र सहयोगले लुम्बिनी भ्रमण वर्ष सफल बनाउन प्रयासरत रहेको उल्लेख गरे ।  मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष सफल बनाउन प्रचारप्रसारलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा सहभागीले प्रदेशका पुरातात्विक र सांस्कृतिक गन्तव्यको सूची तयार गरी लुम्बिनीसँग जोडेर प्रचार गर्न जरुरी रहेको धारणा राखे । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भ्रमण वर्ष अवधिभर पर्यटकलाई होटलमा विशेष छुट दिनुपर्ने बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले लुम्बिनीको पर्यटन विकासका लागि घरवास सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिए । होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भ्रमण वर्षको प्रचारप्रसारका लागि विभिन्न स्थानमा सूचनामूलक बोर्ड राख्ने र प्रचारात्मक सामग्री तयार पारेर वितरण गर्नुपर्ने धारणा राखे ।

भ्रमण वर्षकै तयारी सम्बन्धमा आज प्रचारप्रसार उपसमितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक भरत केसीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्ष सफल बनाउन वर्षभरि प्रचारप्रसारका कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रदेशका सांस्कृतिक र पुरातात्विक क्षेत्रको पहिचान गरी लुम्बिनीसँग जोडेर विभिन्न कार्यक्रम गर्ने निर्णय भएको संयोजक केसीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै