तीन प्रश्नहरू (लियो टोल्सटोय)

खरीबोट

लियो टोल्सटोय नामले संसारभर प्रसिद्ध रहेका रुसी लेखक लेव निकोलायेविच टोल्सटोय(१८२८-१९१०)लाई अहिलेसम्मकै सबैभन्दा उत्कृस्ट लेखकमध्ये एक मानिन्छ । उनका उपन्यासहरू ‘वार एण्ड पिस’ (१८६९) र ‘एन्ना करेनिना’ (१८७७) लाई यथार्थवादी आख्यान क्षेत्रको मास्टरपिसका रुपमा लिइन्छ । उनको अहिंसावादी प्रदर्शन सम्बन्धिका लेखहरूले महात्मा गान्धी, मार्टिन लुथर किंग जुनियर लगायतका २० औं सताब्दीका राजनीतिक नेतृत्वहरूलाई प्रभावित पारेको थियो । प्रस्तुत छ टोल्सटोयको कथा ‘थ्री क्वेस्चन्स’लाई अनुप जोशीले गरेको नेपाली अनुवाद, ‘तीन प्रश्नहरू’:


धेरै पहिलेको कुरा हो, एक राजालाई लाग्यो कि यदी उनलाई केही कुरा सुरु गर्ने सही समय थाहा भयो, सल्लाह लिनलाई सही व्यक्ति को हुन् र गलत व्यक्ति को हुन् भन्ने थाहा भयो र अझ आफूले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्य के हो भनेर थाहा भयो भने उनी आफूले आँटेका कुनै पनि कार्यमा असफल हुनेछैनन् ।

यस्तो सोंच दिमागमा सलबलाउन थालेपछि राजाले आफ्नो राज्यमा घोषणा गरे कि यी सबै कुराबारे आफूलाई जसले ज्ञान दिन्छ उसलाई ठूलो इनाम मिल्नेछ ।

राजाको यस्तो वाणी सुनेर देशभरिका शिक्षित र विद्वान व्यक्तिहरू राजालाई आफ्नो उत्तर लिएर आए तर ती सबैले राजाका प्रश्नहरूलाई आ-आफ्नै तवरले सम्बोधन गरे ।

पहिलो प्रश्नको जवाफस्वरूप केहीले भने कि हरेक कार्यका लागि सही समय पहिचान गर्नका लागि अगाडि नै आगामी महिना, वर्ष र दिनहरूलाई लिएर पूर्वयोजना बनाइराख्नु पर्दछ । र सधैं पूर्वयोजना अनुरुप नै चल्नुपर्छ । तब मात्र कुनै पनि कुरा सही समयमा गर्न सम्भव हुन्छ । अरुले भने कुन समय सही हुन्छ भनेर अग्रिम नै निर्णय लिन असम्भव रहेको बताए । त्यसैले वर्तमानमा के भइरहेको छ त्यसलाई नै ध्यानपूर्वक विचार गरेर त्यस समयका लागि कुन कार्य सबैभन्दा महत्वपूर्ण हो, त्यो गर्नुपर्ने सुझाए । तर त्यसका लागि राजाले बौद्धिक व्यक्तिहरूलाई सल्लाहकार नियुक्ति गर्नु आवश्यक रहेको ठहर्याए जसले राजालाई कुन समयमा के गर्ने भनेर उचित सल्लाह दिनेछन् ।

त्यस्तै दोस्रो प्रश्नलाई लिएर पनि राजासामू धेरैखाले उत्तरहरू प्रस्तुत भए । केहीले भने कि राजालाई सल्लाह लिनका लागि सबैभन्दा उचित व्यक्तिहरू राजाको सल्लाहकार र मंत्रीहरू नै हुन् । कसैले भने पुजारीहरू सल्लाह लिनका लागि सबैभन्दा उचित व्यक्ति भएको तर्क गरे । त्यस्तै केहीले डाक्टर र केहीले योद्धाहरूलाई सबैभन्दा उचित सल्लाहकार हुने धारणा राखे ।

सबैभन्दा महत्वपूर्ण पेशा के हो भन्ने तेस्रो प्रश्नमा केहीले संसारको सबैभन्दा महत्वपूर्ण काम विज्ञान भएको जिकिर गरे । अरुले भने युद्धकौशललाई सबैभन्दा ठूलो माने र कसैले भने धार्मिक श्रद्धालाई नै सबैभन्दा ठूलो कार्य ठहर्याए ।

व्यक्तिपिच्छेको फरक फरक जवाज आएकाले राजाले कुनै पनि जवाफमा सहमत हुन सकेनन् । र उनले कसैलाई इनाम पनि दिएनन् । तर अझै पनि आफ्ना उत्तरहरू पाउनका लागि व्यग्र रहेका उनले एक साधुलाई सम्पर्क गर्ने निर्णय गरे जो आफ्नो ज्ञानका लागि निकै प्रसिद्ध थिए ।

व्यक्तिपिच्छेको फरक फरक जवाज आएकाले राजाले कुनै पनि जवाफमा सहमत हुन सकेनन् । र उनले कसैलाई इनाम पनि दिएनन् । तर अझै पनि आफ्ना उत्तरहरू पाउनका लागि व्यग्र रहेका उनले एक साधुलाई सम्पर्क गर्ने निर्णय गरे जो आफ्नो ज्ञानका लागि निकै प्रसिद्ध थिए ।

साधु एउटा जंगलमा बस्ने गर्थे र उनी केवल साधारण मानिसहरूसँग मात्र भेटघाट गर्थे । तसर्थ राजाले सामान्य मानिसको भेष धारण गरेर साधुलाई भेट्न निस्किए । र साधुको कुटीमा पुग्नु अगाडि आफ्नो घोडा,अंगरक्षक र हतियारहरू सबै वरै छाडेर एक्लै प्रस्थान गरे ।

राजा पुग्दा साधु आफ्नो कुटी अगाडिको जमिनमा खनिरहेका थिए । राजालाई देख्नेवित्तिकै उनले राजालाई प्रणाम गरे र पुन: आफ्नो खन्ने काममा फर्कें । साधु निकै कमजोर र गलेका थिए र आफ्नो कोदालोले जमिनमा प्रहार गर्ने वित्तिकै उनी प्रत्येकपल्ट थाक्थे र भारी सास फेर्थे ।

राजा उनको सम्मुखमा गए र भने, ‘म तपाईंको शरणमा आएको छु, ज्ञानी साधु, मेरा तीन प्रश्नहरू राख्नका लागि । मैले सही समयमा सही कार्य गर्न कसरी सिक्न सक्छु? मलाई सबैभन्दा आवश्यक व्यक्तिहरू को हुन् र कसलाई मैले अरुलाई भन्दा धेरै ध्यान दिएर सुन्नुपर्छ? र कस्ता कार्यहरू सबैभन्दा महत्वपूर्ण हुन् र मैले तिनमा ध्यान दिन जरुरी छ?

साधुले राजाका सबै कुरा सुने तर केही पनि उत्तर दिएनन् । उनी आफ्नो हातमा थुक लगाउँदै खनिरहे ।

‘तपाईं धेरै थाक्नुभएको छ’, राजाले भने, ‘यो कोदालो मलाई दिनुहोस् म तपाईंको लागि केही सेवा गर्छु’

‘धन्यवाद’, साधुले भने र राजालाई आफ्नो कोदालो दिंदै आफू जमिनमा आराम गर्न बसे ।


दुईवटा गह्राहरू खनिसकेपछि राजा रोकिए र पुन: आफ्ना प्रश्नहरू दोहोर्याए । तर साधुले अझै पनि केही उत्तर दिएनन् र आफ्ना हातहरू अगाडि बढाउँदै भने:

‘अब तपाईं केही समयका लागि आराम गर्नुहोस् र मलाई काम गर्न दिनुहोस्’

तर राजाले उनलाई कोदालो फिर्ता दिएनन् र खनिरहे । एक घण्टा बित्यो र अर्को घण्टा पनि । घाम रुखहरूको पछाडि छोपिन लाग्यो र राजाले कोदालो रोके र भने:

‘ज्ञानी पुरुष, म तपाईंसम्म आफ्ना प्रश्नहरूको जवाफ खोज्दै आइपुगेको छु । यदी तपाईं उत्तर दिन सक्नुहुन्न्न भने भन्नुहोस् म घर फर्किन्छु’

‘कोही दौडदै आएको छ’, साधुले भने, ‘को रहेछ हेर्न जाऔं त!’

राजाले फरक्क फर्केर हेरे र एउटा दाह्रीवाल व्यक्ति जंगलबाट दौडदै आइरहेको देखे ।  त्यस व्यक्तिले आफ्नो हातले पेटलाई थिचिरहेको थियो र त्यहाँबाट रगत बहिरहेको थियो । राजा भएको ठाउँमा आइपुग्ने वित्तिकै ऊ बेहोश भएर जमिनमा चित्कार छाड्दै लड्यो । राजा र साधुले त्यस व्यक्तिको लुगा खोलिदिए । उसको पेटमा ठूलो घाउ थियो । राजाले निकै सावधानीपूर्वक त्यसलाई धोइदिए र आफ्नो रुमालओ पट्टी बाँधिदिए । तर अझै पनि रगत बहन छाडेन र राजाले रगतले भिजेको पट्टी निकाले र त्यसलाई धोएर फेरि बाँधिदिए । रगत जान छाडेपछि त्यस व्यक्ति केही समयमा नै होशमा आयो र पानी माग्यो । राजाले पानी ल्याएर उसलाई पिलाए ।

घाम अस्ताइसकेकाले वातावरण शितल भइसकेको थियो । राजाले साधुको मद्दतले घाइते व्यक्तिलाई कुटीसम्म लगे र उसलाई ओछयानमा सुताइदिए । खाटमा सुतिरहको व्यक्तिले आफ्नो आँखा बन्द गर्यो र शान्त थियो । दिनभरिको थकानले थाकेका राजा पनि त्यहीं निदाए । उनी भोलिपल्ट बिहान उठ्दा एकछिन त आफू कहाँ छु र सामुन्नेको दाह्रीवाल व्यक्ति को हो भनेर छुट्टाउन उनलाई मुस्किल भयो ।

‘मलाई क्षेमा गर्नुहोस्!’, राजा ब्युँझिएर आफूलाई हेरिरहेको देख्नेवित्तिकै दाह्रीवाल मानिसले निकै कमजोर आवाजमा भन्यो ।

‘म तिमीलाई चिन्दिनँ र मसँग तिमीलाई क्षेमा दिनुपर्ने कुनै कारण छैन’, राजाले भने ।

‘तपाईंले मलाई चिन्नुहुन्न, तर म तपाईंलाई चिन्दछु । म तपाईंको त्यो शत्रु हो जसले तपाईंमाथि बदला लिन्छु भनेर कसम खाएको थिएँ किनभने तपाईंले उसको भाइलाई मृत्युदण्ड दिनुभएको थियो र सारा सम्पत्ति हडप्नु भएको थियो । मलाई थाहा थियो कि तपाईं साधुलाई भेट्न एक्लै जानुभएको छ र मैले तपाईं फर्कने बेलामा हत्या गर्ने योजना बुनेको थिएँ । तर दिन बित्यो र तपाईं फर्कनु भएन । त्यसैले म आफूले बुनेको जालबाट तपाईंलाई खोज्दै बाहिर आएँ । तपाईंको एक अंगरक्षकले मलाई पहिचान गर्यो र घाइते बनायो । त्यहाँबाट बल्लतल्ल उम्केर म भागिरहेको थिएँ । यदी हजुरले मेरो घाउमा पट्टी नबाँध्नु भएको भए म रगत बगेर मर्थे । मैले तपाईंलाई मार्न चाहेको थिएँ तर तपाईंले भने मेरो ज्यान बचाउनु भयो । अब यदी म बाँचे भने र तपाईंले चाहनुभयो भने म तपाईंको सबैभन्दा वफादार दास भएर सेवा गर्नेछु र मेरा सन्तानलाई पनि सोही गर्न आदेश दिनेछु । मलाई माफ गर्नुहोस्!’

राजा आफ्नो शत्रुसँग पनि मित्रता गाँसेकोमा निकै खुसी भए । र एक असल मित्र पाएकोमा उनले उसलाई माफी मात्र दिएनन् आफ्नो नोकर र व्यक्तिगत डाक्टरलाई उसको उपचार गर्न र रेखदेख गर्न पठाउने वाचा गरे । साथै उनले उसको गुमेको सम्पत्ति फिर्ता गर्ने पनि वचन दिए ।

घाइते मान्छेलाई त्यहीं छाडेर राजा बाहिर निस्केर साधुलाई खोज्न थाले । उनले घर फर्कनु अघि एकपल्ट साधुसँग आफ्नो प्रश्नको जवाफ दिन अनुनयविनय गर्ने निधो गरे । साधु अघिल्लो दिन खनेको खेतमा बीउ रोपिरहेका थिए ।

राजा साधु भए निकट गए र भने:

‘म अन्तिमपल्ट तपाईंसँग मेरो प्रश्नको उत्तर दिन प्रार्थना गर्दछु, हे ज्ञानी पुरुष!’

‘तपाईंले जवाफ पाइसक्नुभएको छ!’, आफ्नो काममा व्यस्त साधुले राजातर्फ हेर्दै भने ।

‘तपाईंले जवाफ पाइसक्नु भएको छ!’, आफ्नो काममा व्यस्त साधुले राजातर्फ हेर्दै भने ।

‘कसरी? तपाईं यो के भनिरहनुभएको छ?’, राजाले अलमलमा पर्दै सोधे ।

‘देख्नुभएन तपाईंले?’ साधुले जवाफ दिए । ‘यदी तपाईंले हिजो मेरो कमजोरी माथि दया नदेखाउनु भएको भए र मेरो लागि नखनिदिनुभएको भए र सीधै घर फर्कनुभएको भए त्यो व्यक्तिले तपाईंलाई आक्रमण गर्थ्यो र तपाईंको ज्यान जान सक्थ्यो । त्यसैले सबैभन्दा महत्वपूर्ण समय भनेको तपाईंले बारी खनिरहेको बेला थियो । र म नै सबैभन्दा महत्वपूर्ण व्यक्ति थिएँ । र मेरो लागि दया गर्नु नै तपाईंको सबैभन्दा महत्वपूर्ण कार्य थियो । पछि जब त्यो व्यक्ति दौडदै हामीतिर आयो सबैभन्दा महत्वपूर्ण समय भनेको तपाईले उसलाई हेरचाह गरेको समय थियो । किनकी यदी तपाईंले उसलाई उपचार नगर्नु भएको भए उसको मृत्यु हुने थियो र तपाईंसँग मित्रता गाँसिने थिएन । तसर्थ ऊ नै सबैभन्दा महत्वपूर्ण व्यक्ति थियो । र तपाईंले उसको लागि जे गर्नु भयो त्यो नै सबैभन्दा महत्वपूर्ण कार्य थियो । त्यसैले याद गर्नुहोस्, जीवनमा एक क्षण मात्र आउँछ जो सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।  वर्तमान ! यो सबैभन्दा महत्वपूर्ण समय हो किनभने यो मात्र त्यस्तो समय हो जतिबेला यसउपर हाम्रो शक्ति हुन्छ । सबैभन्दा महत्वपूर्ण व्यक्ति ऊ हो जोसँग तपाईं हुनुहुन्छ र कुनै पनि व्यक्तिलाई थाहा हुँदैन कि उसको अरु कसैसँग कुनै सम्झौता हुन्छ । र सबैभन्दा महत्वपूर्ण कार्य उसलाई राम्रो गर्नु नै हो किनभने त्यही उदेश्यका लागि नै मानिसलाई यो जीवनमा पठाइएको हो!’

 


z