एब्स्ट्रयाक्ट आर्ट (कविता)

खरीबोट

सुदूर अतितको एक साँझ

उही घुम्ति सडकको

प्रथम घुम्तिको बाँया किनारमा बसी

आफ्नै धोकेवाज प्रेयसीको यादमा

लक्ष्यविमुख जिन्दगीको

मौन परिभाषा खोजिरहेथ्यो एउटा मान्छे

बलिरहेको चुरोट, उँडिरहेको धुँवा

अनि फैलिरहेको गन्धमाझ

 

 

मौनताको बैकालभित्र

आफ्नै आवाजले परिचय गुमाएको पल

मान्छेहरू हिँडेपनि,

बहानहरू गुँडेपनि

कति शून्यशून्य बन्दो रहेछ बाटो ।

 

भ्रान्ति सपनाको मृगतृष्णामा

छोडिआएका बाटोहरू

आँखाका दृष्टिभन्दा धेरै पर छुटेपछि

सीधासीधा चल्दैन बाँकी यात्रा पनि ।

 

हृदयको गहिराइबाट

प्रशारित रिक्तताको आभाष सायद

जहरको ढक्कन नखोलिएसम्म शान्त हुँदैन

त्यसैले खोलियो ढक्कन

हो ढक्कन खोलिएको त्यसै साँझ

बन्द भएका थिए एकजोर शून्य आँखा ।

 

लामो समयको अन्तरालपछि आज

उही घुम्ति सडकको

प्रथम घुम्तिको बाँया किनारमा

देख्नसकिन्छ जथाभावी रङ्ग पोतिएको

एउटा पन्टिङ

जसको तलतिर

यस्तो लेखिएको छ,

‘यो चित्रको अमूर्ततामा जीवन

खोज्न सकिने छ’


z