• २०८१ बैशाख ८ शनिबार

'मेरो सरकार' र 'जय नेपाल' को असान्दर्भिक बहस !  

kharibot

काठमाडौँ । अहिले दुई शब्द 'मेरो सरकार' र 'जय नेपाल' शब्दको विशेष चर्चा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यहि बैशाख २० गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा 'मेरो सरकार' भन्ने शब्दको प्रयोगले नेपाली राजनीतिलाई एकाएक ततायो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राजाले प्रयोग गर्ने 'मेरो सरकार' शब्दलाई गणतन्त्रमा जनताले जिएर बनाएको सरकारले प्रयोग गरेको भन्दै विरोध भयो ।

सत्तारुढ दलका कतिपय सांसदले पनि यो शब्द प्रयोगमा आफुहरु सहमत नभएको बताए । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नीति तथा कार्यक्रममा मेरो सरकार भएको बारे थाहा नभएको र आफुले पढ्दासम्म त्यो शब्द त्यँहा नरहेको बताएका थिए ।

यस प्रसंगमा प्रधनमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वाभाविक रहेको बताउदै यसको बचाउ गरे ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गत मंगलबार अन्तर्राष्ट्रिय प्रचलन अनुसारनै 'मेरो सरकार' भनिएको बताए । 

उनले भारतलगायतका देशमा यस्तो प्रचलन भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनमा प्रयोग भएको ‘मेरो सरकार’ को बचाउ गरेका थिए ।

राष्ट्रपति देशको सर्वोच्च संस्था भएको भन्दै राष्ट्रपति केहि होइन भन्ने कुरा सहि नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले मेरो सरकार शब्द भुलचुकले राखिएको नभै जानी बुझी नै राखिएको बताए ।

सरकारप्रति अपनत्व लिन राष्ट्रप्रमुखले मेरो सरकार भन्नु अन्यथा नभएको दाबि गरे । उनले यो नयाँ कुरा नभएको बताउदै राष्ट्रप्रमुखले आफु मातहतको सरकारलाई मेरो सरकार भन्नु ठिक भएको बताए ।                           

 संचारमन्त्री बास्कोटाको काउन्टर :

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले 'मेरो सरकार' को विरोध गरिरहेका बेला काँग्रेसलाई काउन्टर दिदै राजा महेन्द्रको जय नेपालवादीको संज्ञा दिए ।

वैशाख २० र २३ गते भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न गत बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले काँग्रेसमाथि कटाक्ष गरेका थिए ।

उनले भने, ‘२०१७ मा जननिर्वाचित दुईतिहाइको सरकार अपदस्थ गर्दा सबै कुरा थान्को लगाइसकेपछि राजा महेन्द्रले जय नेपाल श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भनेका थिए’, बास्कोटाले भने, ‘त्यही जयनेपाल बोकेर अहिले पनि कांग्रेस हिँडिरहेको छ । के कांग्रेस महेन्द्रको जय नेपालवादी हो ? पुस १ गतेको कालो दिवसका दिन भनिएको जय नेपालकै पछि लागेको छ त कांग्रेस, हामीले विरोध गरेका छैनौँ।’

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दमाथि कांग्रेससहितले गरेको आलोचना ठीक नभएको बास्कोटाको भनाइ थियो ।

‘बीपी कोइरालासहितले यसअघि नै मेरो जनता, मेरो देश भनेका छन्। यी सबै नेपाली नेपालीका साझा शब्द हुन्’, उनले भने, ‘मेरो सरकार’ प्रयोग गर्न हुन्न भने शब्दकोषबाटै डिलिट गर्नुपर्छ, जय नेपाल पनि डिलिट गरौँ’, उनले भने, ‘जय नेपाल’ आफ्नो सम्बोधनको अन्तिमतिर प्रतिपक्ष कांग्रेसले भन्ने गर्छ। बीपी चीन भ्रमणमा जाँदा पनि मेरो देश, मेरो सरकार, मेरो जनता भनकै थिए, हामीले आलोचना गरेनौँ, अहिले किन यसरी आलोचना र विरोध?’

संचारमन्त्रीलाई देउवाको प्रति-काउन्टर : 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको 'जय नेपाल' शब्दमा गरेको टिप्पणीको प्रति काउन्टर गरेका छन् । संचारमन्त्री बास्कोटाको टिप्पणीप्रति जवाफी टिप्पणी गर्दै सभापति देउवाले यो पागलपनको उपज भएको टिप्पणी गरे । देउवाले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ?  भन्दै प्रति प्रश्न गरेका छन् ।

शब्दको खेलमा एजेन्डा चर्चाविहीन :

मेरो सरकार र जय नेपाल शब्दको चर्चा देशभर व्यापक चर्चा भैरहेका बेला सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल नै मेरो सरकार' मा नै केन्द्रित रहेको देखियो । धेरै जसो सांसदले आफ्नो विषय एजेन्डामा केन्द्रित गर्नुपर्नेमा 'मेरो सरकार'मा केन्द्रित गरेको देखियो, जसले नीति तथा कार्यक्रमको तार्किक र सैद्धान्तिक छलफल नै हुन सकेन । बलजफती पारित गरिएको नीति तथा कार्यक्रममा नत सरकार 'सिरियस' बहसका लागि तयार देखियो नत प्रतिपक्षले अर्थपूर्ण बहस गर्न तयार भयो ।

निष्कर्ष :

देश अहिले राजनीतिक स्थायित्वतर्फ उन्मुख छ । देशमा जननिर्वाचित सरकार छ र लामो समयको अस्थिरतापछि अहिले राजनीतिक स्थिरता आएको छ । त्यसैले अहिले शब्दको विवाद र तर्क वितर्क भन्दा विकास, समृद्धिको बाटोमा हिड्न आवश्यक छ । सरकारको तर्फबाट पनि अनावश्यक बखेडा झिकेर आफ्ना असफलता लुकाउने र मुख्य एजेन्डालाई छायाँमा पार्ने प्रयास गर्नु उपयुक्त देखिदैन । सरकारको अहंकार र निषेधको राजनीतिले देशलाई फेरी अस्थिरता तर्फ  लैजाने संकेत देखिदै छन् जुन सिंगो व्यवस्थाप्रति नै आम जनताको निराशा बढेको देखिदै छ । त्यस्तै प्रतिपक्ष पनि सरकारका नराम्रा कामको विरोध र राम्रा कामको समर्थन गर्दै प्रतिपक्ष पनि सरकारको एक अंग हो भन्ने मान्यता र भूमिकालाई प्रतिपक्षीले पनि बुझ्न जरुरी देखिन्छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै