• २०८१ बैशाख ८ शनिबार

आधुनिक सोचकी मेरी हजुरआमा

kharibot

हजुरआमा

काठमाडौं । मान्छेहरु सोच ठूलो कि समय भन्ने नै छुट्याउन सक्दैनन् । हुन पनि समाजमा मान्छेको सोच र उमेरले पटक्कै मेल खाएको देखिँदैन । कोही वृद्ध भएर पनि नवजवान सोचवाला हुन्छन् त कोही युवा भएर पनि पुरातन सोचवाला । वास्तवमा समयअनुसार सोच्नसक्ने मानिस नै बुद्धिमान् हो । समयअनुसार सोच बनाउनसक्नेले नै संसार जित्नसक्छ । बूढ्यौली प्रकृतिको नियम होला तर सोच आफैँले निर्माण गर्ने कुरा हो । जन्मिएर मर्नु साधारण कुरा हो, सबै प्राणीमा लागू हुन्छ । तसर्थ सोच र उमेरको तुलना हुनसक्दैन भन्नेमा म सहमत छु ।

मेरी हजुरआमा अहिले ७८ वर्षको हुनुभयो, अझ भनौँ बूढी भइसक्नुभयो तर उहाँको सोच, विचार हेर्दा लाग्छ उहाँ बूढी नभएर आधुनिक जमानाको मान्छेजस्तो हुनुहुन्छ  । कसैले ‘तपाईं कती वर्षको हुनुभयो ?’ भनेर सोध्दा मेरी हजुरआमा भन्नुहुन्छ, ‘मलाई थाहा छैन, छोराछोरीलाई सोध्नुपर्छ ।’ उहाँको नागरिकताले थाहा भयो उहाँ ७७ वर्ष कटिसक्नुभएछ ।

कुनै पनि व्यक्तिलाई एक पटक देखेपछि ऊ कस्तो खालको मान्छे हो भन्ने कुरा ठ्याक्कै पत्ता लगाउने उहाँको बानी छ । त्यस्तै, घरमा को कति बेला भोकाएको हुन्छ र के खान खोजेको छ भन्ने कुरा उहाँलाई नभनीकनै थाहा हुन्छ ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी उहाँ अरुले सानै उमेरमा विवाह नगरून् भन्ने चाहनुहुन्छ  । भन्नुहुन्छ, “सानैमा विवाह गरे धेरै दुःख पाइन्छ, अबका छोरीहरुले पढेर जागिर खाएपछि मात्र विवाह गरुन् ।” १० वटा बच्चाबच्चीकी आमा उहाँ आफूले धेरै छोराछोरी पाएर धेरै दुःख पाएकोमा गुनासो गर्दै भन्नुहुन्छ, ‘छोराछोरी जति नै भए पनि यस्तै हो । आफ्नो दुःख आफैसँग हुन्छ ।’

चलन फेरियो
पुरानो चलन मान्दै आउनुभएकी मेरी हजुरआमा सबैले सबै काम गर्नसके सहयोगको लागि कसैको आस गर्नु नपर्ने बताउनुहुन्छ  । हुन त यो मेरी हजुरआमाको मात्र नभएर सबै हजुरआमा र हामी सबै नातिनातिनाको सोच हो । आफूले काम गर्नसके आफैँलाई सहज हुन्छ ।

महिनावारीको समयमा पहिला पहिला धेरै बारिन्थ्यो तर अहिले बार्ने चलन नभएको उहाँको अनुभव छ । उहाँको पालामा धेरै कठोरसँग महिनावारी बारेको अनुभव सुनाउँदै भन्नुहुन्छ अहिले त सजिलो छ । मकै छर्ने समयमा आफू महिनावारी हुँदा नुहाएर मकै छरेको अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘महिनावारी हुँदाको समयमा छरेको कमै नउम्रिने यदि उम्रे पनि नफल्ने कुरा सुनेको थिएँ ।’ 

अनि डराई डराई मकै रोपेको अनुभव छ उहाँको । तर संयोगवश त्यही खेतमा ठूला घोगा मकै फलेपछि यस्तो सोचाइ गलत लागेको थियो रे हजुरआमालाई तर सबैले बार्ने चलन भएकाले केही भन्न नसकेको अनुभव छ  ।

उहाँ श्रीवैष्णव सम्प्रदायसँग सम्बन्धित हुनुहुन्छ । तर महिनावारी भएको समयमा पनि बरु घरमा अरुले बार्न खोज्छन् तर उहाँ भने नुहाइधुवाइ गरेपछि मान्छे छुँदा केही नहुने उहाँको विचार छ । त्यसैले भन्नुहुन्छ, ‘अहिले चलन फेरिएको छ । पहिलेजस्तो कहाँ हुन्छ र !’

भान्छाको साथी मेरो
हजुरआमालाई दम छ, उसै पनि बूढी मान्छे काम त के गर्नु र तै पनि भान्छामा उहाँ साथी बन्नुहुन्छ । तरकारी काट्ने होस् वा आलु तास्ने अगाडि सुरु गर्नुहुन्छ । नभए पनि गफ गर्दै धेरै हसाउनुहुन्छ । कहिलेकाहीँ फेसबुकमा साथीहरुसँग कुरा भएको बेला खै म पनि बोलौँ तेरा साथीहरु के गफ गर्छन् भनी कुरा गर्नुहुन्छ  । अनि हाँस्दै भन्नुहुन्छ, ‘नानीलाई चिनेको त छैन तर पनि बोल्न मन लाग्यो ।’ अनि साथीहरु भन्छन्, ‘तिम्रो हजुरआमा त कति मज्जाको तिम्रो साथी पो हुनुहँुदो रहेछ !’
म पनि हजुरआमालाई साथीजस्तै सबै कुरा भन्छु ।

उहाँ हजुरआमाको रुपमा भन्दा पनि साथीकै रुपमा मलाई गाउँसमाज र अन्य मान्छेहरुसँग गर्ने व्यवहारबारे सम्झाउनुहुन्छ । साँच्चै मेरी हजुरआमा मेरो मिल्ने साथी नै हुनुहुन्छ । उहाँ भएपछि मलाई कहिल्यै एक्लो महसुुस हुँदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै