• २०८१ बैशाख ८ शनिबार

आइपिएलका यी खेलाडी जसले टिमलाई जिताए र डुबाए ! 

kharibot

काठमाडौँ । डेढ महिना लामो आइपिएल सकिएको छ । मुम्बई इण्डियन्सले रोमान्चक खेलमा चेन्नईमाथि एक रनको जित हासिल गर्दै चौथो पटक आइपिएलको उपाधि जित्यो ।

यस रिपोर्टमा आइपिएल फेन्चाईजले किनेका खेलाडीको प्रदर्शन कसको उत्कृष्ट रह्यो र कसको कम्जोर रह्यो भन्ने जानकारी दिन खोजेका छौ । आइपिएल टिमले करोडौ रकम खर्च गरेका केहि यस्ता खेलाडी छन् जसले टिमलाई निराश बनाए भने  केहि यस्ता खेलाडी जो कम रकममा आइपिएल खेलेपनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उत्कृष्ट प्रदर्शन गर्ने यी ५ खेलाडी :

यस सुचिमा सबैभन्दा अगाडी इङल्याण्डका जोनी बैरस्ट्रव सबै भन्दा अगाडी रहेका छन् । सनराइजर्स हैदरावादले २ करोड २० लाखमा किनेको बैरस्ट्रवले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरे । उनले १० खेलमा ४४५ रन बनाए । डेविड वार्नरसँग मिलेर उनले ४ शतकीय र तीन अर्धशतकीय साझेदारी गरे । उनी आइपिएलको इतिहासमा पहिलो आइपिएल बाहेक अहिलेसम्म कै आइपिएलमा डेभ्यु सिजनमा धेरै रन बनाउने ब्याट्सम्यान समेत बनेका छन् ।

यस सुचिमा भारतीय तिब्र गतिका बलर इशान्त शर्मा पनि रहेका छन् । २०१८ सिजनमा कुनै टिमले नलिए पछि इशान्तले यस सिजनमा दिल्ली क्यापिटल्सबाट कमब्याक गरेका थिए ।

दिल्लीले एक करोड १० लाखमा इशान्तलाई लिएको थियो । इशान्तले यस सिजनमा दिल्लीलाई उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो क्वालिफायरसम्म पुर्याउन योगदान दिएका थिए । इशान्तले यस सिजनमा खेलेका १३ खेलमा १३ विकेट लिए । यस सिजनमा उनको इकोनोमी ७.५८ रहेको छ ।

यस सुचिमा वेस्टइन्डिजका कीमो पाउल दिल्लीबाट खेल्दै राम्रो खेल देखाए । पाउललाई दिल्लीले ५० लाखमा किनेको थियो । पाउलले ८ खेलमा ९ विकेट लिएका थिए ।

यस सुचिमा भारतीय युवा खेलाडी रियान पराग पनि रहेका छन् । केवल २० लाखमा राजस्थान रोयल्ससँग आवद्ध भएका परागले उच्च आत्मविश्वास देखाउदै राम्रो प्रदर्शन गरेका थिए ।

परागले यस सिजनमा ढिलो मौका पाएपनि ७ खेलमा १६० रन बनाउदै उच्च सम्भावना देखाएका थिए । उनले कोलकोताविरुद्ध अर्धशतक बनाउदै कम उमेरमा आइपिएल अर्धशतक बनाउने रेकर्ड समेत बनाएका छन् ।

त्यस्तै केबल २० लाखमा किंग्स इलेभेन पंजावमा आवद्ध भएका मुर्गन आश्विनले पनि यस सिजनमा राम्रो सम्भावना देखाए । १० खेलमा ५ विकेट लिएका मुर्गनले आफ्नो भेरियसनबाट प्रभावित गरेका छन् । उनले मुम्बई इण्डियन्सविरुद्ध २ विकेट लिदै पंजावलाई जिताउन योगदान गरेका थिए ।

महंगा खेलाडीको निराश प्रदर्शन :

यस सुचिमा सबै भन्दा अगाडी भारतीय तिब्रगतिका बलर जयदेव उनदकट रहेका छन् । राजस्थानले ८ करोड ४० लाखमा किनेको जयदेवले यस सिजनमा निराश बनाएका छन् । उनले ११ खेलमा केवल १० विकेट लिएका छन् भने उनको इकोनोमी १०.६६ रहेको छ । राजस्थानले जयदेवलाई उनको न्युनतम मुल्य एक करोड ५० लाखबाट पाँच गुणा बढी मुल्य तिरेर भित्राएको थियो ।

त्यस्तै यस सुचिमा अर्को नाम बरुण चक्रवर्ती हो । आइपिएल अघि निकै चर्चामा रहेका यी खेलाडीलाई किंग्स इलेभेन पंजावले ८ करोड ४० लाखमा किनेको थियो । न्युनतम मुल्य २० लाख रहेका बरुणलाई पंजावले ४२ गुणा बढी मुल्य तिरेर किनेको थियो । तर उनले यस सिजनमा केवल एक खेल खेले र एक विकेट लिए । सुरुमा इन्जुरीका कारण खेल्न नसकेका बरुणले एक खेल कोलकोता नाइटराइडर्स विरुद्ध खेले । तर यस खेलमा उनको निकै नराम्रो रेकर्ड समेत बन्यो । उनले आफ्नो डेभ्यु ओभरमै २५ रन दिएर आइपिएलमा डेभ्यु ओभरमा धेरै रन दिने बलरको नराम्रो रेकर्ड बनाए ।

यस सुचिमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम पनि रहेका छन् । इनग्रामलाई दिल्लीले ६ करोड ४० लाखमा किनेको थियो । तर इनग्रामको यो सिजन निराशाजनक रह्यो । उनले १२ खेल खेल्दै केवल १८४ रन बनाए । इनग्रामको यस सिजनमा औसत केबल १८.४० रन रह्यो भने उनको स्ट्राइक रेट ११९.४८ रहेको छ ।

यस सुचिमा भारतीय अलराउन्डर शिवम दुवे पनि रहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरले ५ करोड खर्च गरेर भित्राएको भएपनि उनले यस सिजनमा निराश बनाएका छन् । दुवेले ४ खेलमा केवल ४० रन बनाए ।

त्यस्तै यस सिजनमा निराश बनाएका खेलाडी सिमरन सिंह हुन् । भारतीय युवा खेलाडी सिमरनलाई किंग्स इलेभेन पंजावले ४ करोड ८० लाखमा किनेको थियो । विकेटकिपर ब्याट्सम्यान सिमरन यस सिजनमा केवल एक खेल खेले भने १६ रन बनाए । उनले यस सिजनमा नत मौका पाए न त पाएको एक मौकालाई सदुपयोग गर्न खोजे । सिमरन र बरुण दुई खेलाडीले पंजावका लागि १३ करोड २० लाख खर्च गर्यो तर नत उनीहरुले खेल्ने मौका पाए नत पाएको मौकामा प्रदर्शन गर्न सके ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै