• २०८१ बैशाख ७ शुक्रबार

‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ र कर्माको अपोजिटमा उपासना   

kharibot

काठमाडौँ । ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ मा लागि अन्तिम समयमा कर्माको इन्ट्री भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने भएपनि यो चर्चित फिल्मको तेस्रो सिरिजमा दयाहाङ राईसँग कर्माले अभिनय गर्ने भएका हुन् । आफूलाई ‘स्टार’ बनाएको ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि प्रदिपले ‘कबड्डी कबड्डी कबड्डी’ बाट बाहिरिएको चर्चा रहेको छ । 

यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको थियो । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो । 

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी’ को तेस्रो सिरिज स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुनेछ । निर्देशक रामबाबुका हरेक फिल्म खिच्दै आएका शैलेन्द्र डि. कार्कीकै काँधमा यस फिल्मको पनि छायांकनको जिम्मेवारी छ ।

सो फिल्ममा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ । 

उनी आफू ‘कबड्डी’ सिरिजको सदस्य बन्न पाउँदा भाग्यमानी महशुस गरेको बताउँछिन् । यस फिल्म अघिल्ला दुई सिरिजमा पनि प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङले फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो टिमले इमान्दार प्रयास गर्ने बताए । 

फिल्ममा दयाहाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
जेठ ५ गतेबाट छायांकन सुरु हुने ‘कबड्डी कबड्डी कबड्डी’ का एक्टिङ कोच अनुप बराल हुन् । निमेश श्रेष्ठले फिल्म सम्पादन गर्नेछन् ।

यस फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार छन् । भने, रुदेना साडा लेप्चा सह-निर्माताको रुपमा छन् । यसमा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । फिल्ममा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् । कला निर्देशकमा सुरेश कार्की र मधुसुदन कार्की छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै