• २०८१ बैशाख ८ शनिबार

चार जिल्ला क्रिकेट संघको निर्वाचन जेठमा

kharibot

काठमाडौँ । चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् ।

निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।  चितवनले अगामी जेठ ४, महोत्तरीले जेठ ११, सप्तरीले जेठ १५ र दाङले जेठ १८ गते साधारणसभा बोलाएको छ ।

नयाँ विधानअनुसार निर्वाचन गराउने जिम्मेवारी पाएको स्वतन्त्र कमिटीले २० जिल्ला कमिटीको निर्वाचनलाई बैधता दिँदै अन्य १९ जिल्लामा भने निर्वाचन गराउने निर्णय गरेको थियो । सहमतिअनुसार कमिटीले १२ जिल्लामा नयाँ विधानअनुसार सदस्य थप गरेर र अन्य सात जिल्लामा पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्णय गरेको थियो ।

कमिटीले नयाँ सदस्यतासहित निर्वाचन गराउन पर्सा, मकवानपुर, उदयपुर, तनहुँ, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटीलाई पत्र पठाएको छ । यस्तै महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा पुरानै सदस्यता अनुसार निर्वाचन गराउन भनिएको छ ।

कमिटीले पुरानै निर्वाचनलाई मान्यता दिएका जिल्लामा सर्लाही, बारा, धनुषा, सिरहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलवस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कञ्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी छन् ।

नयाँ सदस्यतासहित निर्वाचन गराउने जिम्मेवारी पाएका जिल्ला सङ्घले पत्र प्राप्त भएको ७ दिनभित्र सदस्य लिन चाहने क्लब र व्यक्तिलाई निवेदनका लागि सूचना प्रकाशित गर्नुपर्नेछ । उनीहरुले १५ दिनको समय राखेर निवेदन उपर छानविन गरी सदस्यताको विषयमा निर्णय गर्नेछन् ।

नयाँ सदस्यता वितरण भएलगत्तै स्वतन्त्र कमिटीले साधारणसभा बोलाउने अधिकारसहितको पत्र जिल्ला सङ्घलाई पुनः पठाउनेछ । पुरानै सदस्यता अनुसार निर्वाचन गर्ने जिल्लाले पत्र प्राप्त भएको ७ दिनभित्र १५ दिनको समयसीमा राखेर साधारणसभा आह्वान गर्नुपर्नेछ । सोही सभाले केन्द्रीय र प्रदेशका लागि प्रतिनिधि चयन गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै