• २०८१ बैशाख ८ शनिबार

एकल विन्दु सेवा केन्द्र सञ्चालनमा, ‘डिजिटलाइजेसन’मा विशेष जोड  

kharibot

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले बुधबारदेखि एकल विन्दु सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

उद्योग विभाग परिसरमा कार्यालय रहने सेवा केन्द्रको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गरे । केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले केन्द्रको सञ्चालनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्धि नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई टेवा दिएको बताए ।

उनले केन्द्र स्थापनासँगै स्वदेशी तथा विदेशी उद्योगीहरुले पहिले जस्तो विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

केन्द्रमा नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, वातावरण विभाग लगायत उद्योग दर्ताका लागि आवश्यक १२ वटा निकायका उच्च प्रतिनिधि रही सेवा दिनेछन् । केन्द्रमा विभिन्न निकायका कर्मचारीहरु समेत उपस्थित भइसकेका छन् ।

केन्द्रको एकै स्थानबाट १२ वटा फरक–फरक निकायले सेवा दिने मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताइन् । केन्द्रमा एकजना सूचना अधिकारी समेत राखिने सचिव खतिवडाले बताइन् । कुनै कारणवश केन्द्रबाट काम नभएमा सूचना अधिकारीले सहकार्य गरिदिने उनको भनाइ छ । ‘कुनै समयमा सेवाग्राहीले सम्बन्धित निकायको प्रमुखलाई भेट्नुपर्ने हुन्छ, त्यो समयमा उक्त अधिकारीले नै त्यसको व्यवस्थापन गरिदिन्छन्,’ उनले भनिन् ।

बुधबारदेखि भौतिक रूपमा सुरुवात भए पनि केन्द्र बिस्तारै प्रविधिमैत्री हुने सचिव खतिवडाको भनाइ छ । ‘उद्योग दर्ताका कामहरु बिस्तारै डिजिटल फारममार्फत पनि गरिनेछन्,’ खतिवडाले भनिन् ।

विगत लामो समयदेखि स्वदेशी तथा विदेशी लगानीकर्ताले केन्द्र स्थापनाका लागि माग राख्दै आएका थिए ।

यस्ता छन् एकल विन्दु सेवा केन्द्रबाट उपलब्ध हुने सेवाहरू :

  • उद्योगलाई प्रदान गरिएको कर तथा राजस्व छुट लगायत अन्य प्रोत्साहन, सुविधा र सहुलियत उपलब्ध गराउने,
  • उद्योगलाई आवश्यक पर्ने हदबन्दीभन्दा बढी जग्गा छुट सिफारिस, जग्गा प्राप्ति र वनक्षेत्रको जग्गा लगायतका विषय तथा सरकारी जग्गा लिजमा उपलब्ध गराउने समेतका विषयमा सहजीकरण गर्ने
  • दर्ता प्रक्रिया लगायतका सेवाहरू विद्युतीय प्रणालीबाट प्रवाह गर्ने र अन्तर निकायले प्रयोग गर्ने गरी प्रणालीको विकास गरी कार्यान्वयन गर्ने,
  • निश्चित रकमसम्मको विदेशी लगानीको स्वीकृति र विदेश फिर्ता लैजाने (रिपिटेशन) कार्यका लागि सहमति दिने र प्राधिकारभन्दा बढीको निर्णय गर्नुपर्ने विषयमा सहजीकरण गर्ने,
  • उद्योगलाई आवश्यक पर्ने विद्युत्, अन्य ऊर्जा, सञ्चार, पानी तथा खानेपानी  सुविधा तथा पहुँच सडक निर्माण लगायतका औद्योगिक पूर्वाधार निर्माणका लागि समन्वय र सहजीकरण गर्ने,
  • विदेशी लगानीकर्ता तथा कामदारलाई श्रम स्वीकृति तथा भिसा उपलब्ध गराउने,
  • उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, मेशिनरी, पार्टपूर्जा आयातमा सहजीकरण गर्ने तथा आयात अनुमति लिनुपर्ने मालवस्तु भएमा अनुमति दिने एवं सोका लागि सिफारिस गर्ने,
  • उद्योग स्थापना गर्न प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कनको र कार्यक्षेत्रगत शर्त स्वीकृत गर्ने तथा स्वीकृतिको लागि आवश्यक सहजीकरण गर्ने,
  • एक पटकमा एक लाख अमेरिकी डलरसम्मको विदेशी विनिमय स्वीकृत गर्ने र सोभन्दा माथिको स्वीकृतिको लागि सहजीकरण गर्ने,
  • लगानी पोर्टलको स्थापना र सञ्चालन गरी लगानी सम्बन्धी सूचना तथा जानकारी उपलब्ध गराउने,
  • स्थायी लेखा नम्बर प्रदान गर्ने,
  • आयात निर्यात सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने,
  • निकासी अनुदान उपलब्ध गराउने,
  • पुँजी वृद्धि, क्षमता वृद्धि, उद्देश्य थप, उद्देश्य परिवर्तन, नामसारी, ठाउँसारी वा स्थानान्तरणको स्वीकृति दिने,
  • उद्योग व्यवसायलाई आवश्यक पर्ने सबै प्रकारका सिफारिस तथा सहजीकरणको कार्य गर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै