• २०८१ बैशाख ६ बिहीबार

बाराको सिमरामा एन्फाको 'ग्रासरुट डे’

kharibot

तस्बीर : खरीबोट

बारा । अखिल नेपाल फूटवल संघ (एन्फा) ले बुधवार बाराको सिमरामा ग्रास रुट डे मनाएको छ ।

गत भदौ देखि सिमरा रंगशालामा ग्रास रुट फूटवल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फूटवल संघले बिशेष कार्यक्रमको आयोजना गर्दै ग्रासरुट डे मनाएको हो ।

स्कुले बालबालिकालाई फूटवलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले नेपालमा गत भदौ देखी देशका ४८ जिल्लामा ग्रास रुट फूटवल प्रशिक्षण सुरु गरेको थियो । 

ग्रास रुट फूटवलमा जिल्लाका १६ विद्यालयका चार सय भन्दा बढी बालबालिका सहभागी छन् । 

एसिएन फूटवल काउन्सिलले हरेक वर्ष मे १५ तारिकलाई ग्रासरुट डेको रुपमा मनाउदै आएको छ । यसै वर्ष एन्फाले काउन्सिलको कार्यक्रमलाई नेपालमा भित्राएपछि ग्रास रुट डे मनाइएको हो । एन्फाले यसपाली नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो ।

सिमरा रंगशालामा आयोजित ग्रास रुट डे बिशेष कार्यक्रममा सहभागी नेपालको पूर्व राष्ट्रिय गोलरक्षक समेत रहेका उपेन्द्रमान सिंहले नेपाली फूटवलको विकासका लागि ल्याइएको ग्रास रुट फूटवलबाट दक्ष खेलाडी उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताए । 

ग्रास रुट प्रशिक्षणमा सहभागी बालबालिकाको हौसला बढाउन सिमरा रंगशाला पुगेका जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्कुल स्तरबाटै सुरु गरिएको यस्तो प्रशिक्षणबाट नेपाली फूटवलको विकासमा निकै टेवा पुग्ने बताए । मेयर डा. पौडेलले उपमहानगरपालिका भित्रै सञ्चालन गरिएको यस्तो महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन उपमहानगरले समेत योजना बनाईरहेको बताए । 

एन्फाले ग्रास रुट फूटवलका लागि प्रत्येक जिल्लालाई पाच लाख बजेट उपलब्ध गराएको थियो । एन्फाले उपलब्ध गराएको बजेटबाट बारामा सुरु गरिएको ग्रास रुट फूटवलमा यतिबेला बालबालिकाको मात्रै नभई अभिभावकको समेत रुची देखिन्छ । आफ्नो बालबालिकालाई उत्साहका साथ अभिभावकले फूटवलमा सहभागी गराएको बारा जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष एवम् ग्रास रुट फूटवल बाराका संयोजक रामचन्द्र लामाले बताए ।

बारा जिल्ला फूटवल संघका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर डा. पौडेलसहित वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुभाष हमालसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, फूटवलप्रेमी र अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुनिल गाउलेले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै