माथिल्लो त्रिशूलीको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौँको मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाका पुनः परीक्षण गरिने प्राधिकरणले जनाएको छ । सो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी जोगिने र भारतबाट आयात भइरहेको विद्युत् परिमाण घट्ने बताए ।

विद्युत् बढी माग हुने काठमाडौँ उपत्यकाबाट नजिक रहेको र हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहनेछ ।

सो आयोजनाबाट उत्पादित विद्युत्ले उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने विश्वास लिइएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार त्रिशूली ३ ए पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभर खपत हुने ऊर्जामा करीब आठ प्रतिशतको योगदान रहनेछ । त्यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जासमेत कम गर्न सकिनेछ ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन शुरु गर्ने अवस्थामा पर्‍यायएको हो । आयोजनाले नै काठमाडौँको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको समेत निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

कूल अनुमानित लागत १२ करोड ५८ लाख अमेरिकी डलर रहेको आयोजना नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चिनियाँ कम्पनी गेजुवासँग २०७६ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का भने चाइना वाटर एण्ड इनर्जीले पाएको थियो । 

विसं २०७१ साल जेठ १७ गतेभित्र निर्माण सक्ने गरी गेजुवासँग ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका नराम्ररी प्रभावित भएको थियो ।

सम्बन्धित समाचार

अवरुद्ध विद्युत् प्रणाली बुधबारसम्म पूर्ववत् अवस्थामा आउने 

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध भएका विद्युत् प्रसारण प्रणालीको मर्मत बुधबारसम्म सम्पन्न भइसक्ने जनाएको छ ।  यही असार २६ गतेदेखि देशव्यापी रुपमा परेको अविरल वर्षाका कारण विशेष

इनर्जी बैंकिङको अभ्यास शुरु : दुई सय मेगावाट विद्युत् भारत पठाइयो

काठमाडौँ । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत

कुलेखानी बाँधको ढोका नखोलिने, सबै टर्वाइन घुमाएर विद्युत् निकालिने

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

दैलेख / दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम


z