• २०८१ बैशाख १४ शुक्रबार

विहिबारसम्म ६५ आरोही सगरमाथाको चुचुरामा

kharibot

सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो ।

मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । 

बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिईन । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् । 

बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

बिहीबार बिहान आधार शिविरमा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गरेका थिए ।

अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ । हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ । सोही साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन् । सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो । 

विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष करीब रु ४० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै