• २०८१ बैशाख १२ बुधबार

किरात जातिले मनाए प्रकृति पूजाको पर्व उभौली

kharibot

फाइल तस्बीर

काठमाडौँ । किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान चाडका रुपमा आज उभौली पर्व मनाएका छन् । यस अवसरमा आज किराती परम्पराअनुसार भूमिको पूजा गरियो । प्रकृतिका पूजक किरातले मनाउँदै आएको यस चाड कहिलेबाट मनाउन शुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण फेला परेको छैन ।

ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको शुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ । उभौलीलाई किरातभित्रका विभिन्न समुदायले ठाउँ र आआफ्नो भाषाअनुसार फरक नामले पुकार्छन् । चाम्लिङले साकेला, बान्तावाले साकेवा वा साकेन्वा, सुनुवारले फोलष्यादर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गरेको किरातको सांस्कृतिक अनुसन्धानमा लागेका कीर्तिकुमार दुमी राई बताउछन् ।

यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउने चलन छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइन्छ । “दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरीयाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुशियाली मनाउँदै उधौली पर्व मनाइन्छ”, राईले भने ।

अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिऊन, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाईं सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने यो पर्वलाई उभौली भन्ने गरिएको हो ।

त्यसैगरी किरात उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुशी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् । यस समयमा लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउँ मधेश, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मङ्सिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिन्छ । 

राई, लिम्बू, याक्खा र सुनुवार लगायतका किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन् । गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ ।

पूजा आराधना गर्ने पुजारी नागिरे धाँमी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन् । पूजाका लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ । पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ ।

यसरी नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउका माध्यमबाट ढोल, झ्याम्टाको तालमा जीव, जनावर, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको तथा उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । 

यसका साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयका माध्यमबाट नाचमा देखाइन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ ।

सिली टिप्ने वा नाच्ने तरिका स्थान, जातिअनुसार फरक हुन्नसक्छ । कुनै सिली ढिलो हुन्छ भने कुनै छिटो टिपिन्छ । यसरी नाच्दा वा सिली टिप्दा त्यही अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ । गीतले पनि मौलिक विशेषता बोकेको हुन्छ ।

उभौली पर्वमा नाच्दा जातीय पहिचान झल्काउने पहिरन लगाइन्छ । पुरुष कालो कोट, खाँडीको कपडा, अल्लोको धागोको दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै त्यसकै तालमा नाच्ने गर्छन् । महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा हँसिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा बजाउँदै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकाररुपमा नाच्ने गरिन्छ ।

किरात जातिको बसोबास नेपालको पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा धुमधामका साथ मनाइन्छ । पछिल्लो समयमा राजधानीमा समेत रौनकताका साथ यो पर्व मनाउने गरिएको छ । विभिन्न उद्देश्यले यहाँ बसोबास गर्ने किरात, राई, लिम्बू, याक्खा, सुनुवार लगायतको सामूहिक आयोजनामा ललितपुरको हात्तीवनस्थित साकेला थानमा जम्मा भई पूजाआजा गरिन्छ । 

यसैगरी नखिपोट,  टुँडिखेल, जावलाखेल, वानेश्वरलगायत ठाउँमा पनि परम्पराअनुसार पूजा गरिन्छ । किरातको बसोबास रहेको बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै