• २०८१ बैशाख १४ शुक्रबार

जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दिएको प्रमाणित गर्नुपर्यो : अध्यक्ष प्रचण्ड

kharibot

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उनले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक रहेको बताए । “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ”, उनले भने ।

केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा  जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गरे ।

स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलिअलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने उनले स्पष्ट पारे ।

ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहना हो भन्दै दाहालले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधिको बैठक राख्न पहल गरिने बताए । “काठमाडौँ तराई–मधेश द्रुतमार्ग र ललितपुरको विकासका लागि प्रधानमन्त्रीसहितको बैठक राख्न म पहल गर्छु” अध्यक्ष दाहालले भन्नुभयो, “ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचन दिन्छु ।” वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतको उपस्थिति थियो ।

भैरवनाथ गण’ वृत्तचित्र सार्वजनिक

नेता दाहालले लाखौं युवाको योगदानबाट नै आज नेकपा यो अवस्थामा आइपुगेको बताएका छन् । दुर्गा केसीद्वारा निर्मित वृत्तचित्र ‘भैरवनाथ गण’ को अवलोकनपछि उनले द्वन्द्वकालको वास्तविक घटनालाई समेटेको वृत्तचित्रबाट सबैलाई शिक्षा र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

सशस्त्र द्वन्द्वका बेला आफ्ना श्रीमान् कृष्णलाई खोज्दा केसीले केकस्ता चुनौती १८ महिनासम्म झेल्नुपर्‍यो भन्ने कुरालाई वृत्तचित्रमा समावेश गरिएको छ । “मेरो श्रीमान्लाई खोज्न मिडियाले ठूलो भूमिका खेलेको छ”, निर्माता केसीले भनिन् । आज मात्र सार्वजनिक भएको वृत्तचित्र  देशविदेशमा देखाइने  बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै