• २०८१ बैशाख १२ बुधबार

‘रातो टीका निधारमा’ फिल्ममा सम्राज्ञीको अपोजिटमा अंकित

kharibot

काठमाडौँ । निर्माता निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टीका निधारमा’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ ।

यस फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । कार्यक्रममा फिल्मका काम कलाकारहरुको पनि घोषणा गरीएको छ । 

फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रमुख भूमिकामा छन् । सम्राज्ञीको अपोजिटमा भने निर्देशक शर्मा कै छोरा अंकित शर्माले डेभ्यु गर्ने भएका छन् । फिल्म मेकिङमा ब्याचलर गरेका अंकितले फिल्म ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका थिए । 
किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नाम चलेका कलाकारहरु रहेका छन् ।

अभिनेत्री नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।

पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यही जेठ १० गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । 

फिल्म ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस फिल्ममा रि-एरेञ्ज गरिएको छ ।

फिल्मको छायांकन नै गीतबाट सुरु हुने निर्देशक शर्माले जानकारी दिए । उनी ‘रातो टीका निधारमा’ गीतको रिमेक भर्सनलाई राम्रो बनाउन निकै मिहिनेत गरेको बताउँछन् । उनी दर्शकले रिमेक भर्सनलाई पनि ओर्जिनल गीतझैँ मन पराउनेमा विश्वस्त छन् ।

अभिनेत्री साम्राज्ञी आफू पहिलो पटक फरक भूमिकामा प्रस्तुत हुन लागेकोमा निकै उत्साहित रहेको बताईन । सम्राज्ञी फिल्ममा गाउँले भूमिकामा देखिँदैछिन् । त्यस्तै अंकितले आफूले निर्वाहा गर्न लागेको चरित्रलाई न्यायपूर्वक निभाउन कुनै कसर नछाड्ने प्रतिवद्धता व्यक्त गरे ।

फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै