• २०८१ बैशाख १३ बिहीबार

हुवावेमाथि गूगललगायत अमेरिकी कम्पनीको प्रतिबन्ध 

kharibot

अमेरिका । हाल अमेरिकी सरकारले हुवावेमाथि प्रतिबन्ध लगाएको छ । हुवावेसँग व्यापारका लागि लाइसेन्स पाउने अमेरिकी कम्पनीले मात्रै उससँग व्यापार गर्न पाउने भएका छन् । अमेरिकाले मुलुकका प्रविधि कम्पनीहरूलाई हुवावेसँग व्यापार नगर्न आदेश दिएको छ । यही आदेशको पालना गर्दै गूगलले हुवावेको मोबाइललाई अपडेट नदिने घोषणा गरेको हो । गूगलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सरकारका नियमको पालना गर्नुका साथै यस विषयमा विशेष ध्यान दिइरहेका छौं ।’
यससँगै हुवावेको नयाँ स्मार्टफोनमा गूगलको एप एक्सेस नहुने भएको छ । हुवावेका पुराना फोन प्रयोगकर्ताले पनि अब एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेट पाउने छैनन् । 

हुवावे प्रयोगकर्तामा कस्तो असर पर्ला ? 

गूगलले हुवावेका मोबाइललाई अपडेट नदिएपछि हुवावेका प्रयोगकर्ता पक्कै पनि समस्यामा आउन सक्छन् । हुवावेका प्रयोगकर्ताले अब गूगलको सेक्युरिटी अपडेट र टेक्निकल सपोर्ट पाउने छैनन् । यसका साथै हुवावेको नयाँ स्मार्टफोनमा यूट्युब र गूगल म्याप पनि उपलब्ध हुने छैन । हालका प्रयोगकर्ताले भने गूगल प्ले सर्भिस तथा एपहरु अपडेट गर्न सक्छन् । तर, गूगलले अब एन्ड्रोइडको कुनै नयाँ भर्जन अपडेट गरेमा भने त्यो हुवावे प्रयोगकर्ताले पाउने छैनन् । यद्यपि, हुवावेले ओपन सोर्स लाइसेन्सबाट मिल्ने एन्ड्रोइड ओएस भर्जन प्रयोग गर्न सक्छ । 

अन्य कम्पनीले पनि लगाए प्रतिबन्ध 

गूगलबाहेक केही अन्य अमेरिकी प्रविधि कम्पनीले पनि हुवावेको व्यापारमाथि प्रतिबन्ध लगाएका छन् । ब्लुमबर्गका अनुसार विश्वकै तीन ठूला चिप निर्माता र वितरक कम्पनी इन्टेल, क्वालकम र ब्रोडकमले पनि हुवावेसँग व्यापार नगर्ने घोषणा गरेका छन् । इन्टेलले हुवावेको स्मार्टफोनका लागि चिप र ल्यापटपको लागि प्रोसेस विक्री गर्ने गथ्र्यो । त्यस्तै, क्वालकमले भने हुवावेलाई मोडेमका साथै अन्य प्रोसेसर उपलब्ध गराउने गथ्र्यो । 

वास्तविक विवाद के हो त ? 

हुवावेलाई अमेरिकाका साथै अस्ट्रेलिया र युरोपेली देशहरुले पूर्ण प्रतिबन्ध लगाउन खोजिरहेका छन् । पश्चिमी मुलुकहरुमा हुवावेको विरोध तीव्ररुपमा बढिरहेको छ । उनीहरुले हुवावेको नेक्स्ट जेनेरेशन ५जी नेटवर्कमा प्रतिबन्ध लगाएका छन् । हुवावेका डिभाइसबाट ५जी नेटवर्कको प्रयोग सुरक्षाको हिसाबले खतरायुक्त रहेको ती देशको भनाइ छ । ती देशले चीनले हुवावेको माध्यमले आफूमाथि निगरानी राखिरहेको आरोप लगाएका छन् । हुवावेले भने यस आरोपको खण्डन गर्दैै आएको छ । 

हुवावेको आगामी कदम 

हुवावेलाई आफूमाथि प्रतिबन्ध लाग्ने आशंका विवाद सुरु भएदेखि नै रहेको थियो । त्यसैले उसले आफ्नै अपरेटिङ सिस्टम बनाएर यसको परीक्षण गरिरहेको बताइएको छ । त्यस्तै, उसले आफूलाई ३ महिनालाई आवश्यक चिप्स पनि यसअघि नै लिइसकेको अनुमान छ । हुवावेप्रतिको प्रतिबन्धले चिनियाँ प्रयोगकर्तालाई खासै असर पर्दैन । किनकि चीनमा पहिलेदेखि नै गूगलमाथि प्रतिबन्ध छ । गूगलको स्थानमा त्यहाँ टेनसेन्ट र पाइतु जस्ता कम्पनीले प्रयोगकर्तालाई सेवा दिइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै