• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभामा प्रमाण विधेयक स्वीकृत, गुठी विधेयक पेश

kharibot

काठमाडौँ । “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत भएको छ । सोसम्बन्धी प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले विधेयकमा ३२ ठाउँमा संशोधन गरिनुभन्दा नयाँ ल्याइनुपर्ने, विज्ञान प्रविधिको विकासले प्रमाणका नयाँ आयाम आएकाले त्यसअनुसार विधेयकलाई परिष्कृत गरिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद बद्री पाण्डेले विधेयक पढ्दा सरकारले पर्याप्त समय नदिएको र  हेलचेक्र्याइँ गरेको आरोप लगाउँदै विद्युतीय कारोवार ऐन र यसमा के फरक छ भन्नेमा प्रष्ट नभएको बताए । सांसद विन्दादेवी आले रानाले विधेयकको दफा १९ मा दोहोरो अर्थ लाग्ने ‘अदालतले चाहेको खण्डमा श्रव्यदृश्य लिनसक्ने’ वाक्यांशले कार्यान्वयनमा असहज हुन सक्ने बताइन् ।

सांसद प्रकाश पन्थले बलात्कारका घटनामा प्रमाण लोप हुन सक्ने र बहिराले बोल्न नसक्ने भएकाले कसरी प्रमाणको सुनिश्चितता गर्ने भन्ने स्पष्ट हुनुपर्ने विचार राखे । सांसदत्रय जीवन बुढा, वृशेषचन्द्रलाल र ठगेन्द्र पुरीले समसामयिक रुपमा विधेयक परिमार्जन गर्न सकिनेमा जोड दिए । सांसदले उठाएका प्रश्नको जवाफ दिँदै  मन्त्री ढकालले सर्वोच्च अदालतको रायसुझाव लिएर विधेयक संसद्मा पेश गरिएको बताए ।

यसैगरी सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘गुठी विधेयक, २०७५’ पेश गरिन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै