• २०८१ बैशाख ७ शुक्रबार

अमेरिका उडाउने भन्दै २ करोडभन्दा बढी ठगी 

kharibot

काठमाडौं । बाध्यताको रोजगारी बनेको वैदेशिक रोजगारीको नाममा ठगिने क्रम अझै रोकिएको छैन । सोहि क्रममा रोजगारीको लागि अमेरिका लाने भन्दै एजेन्टहरुले पछिल्लो दुई महिनाको अन्तरालमा २ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै  वैदेशिक रोजगार विभागमा पीडितहरुले उजुरी दर्ता गरेका छन् ।

विभागका अनुसार ६ जना पीडितहरुले आफूहरुलाई २ करोड १२ लाख २८ हजार ३ सय ३४ रुपैयाँ ठगेको भन्दै विभागमा उजुरी दर्ता गराएका हुन् । पीडितहरुले आफूहरुलाई अमेरिका पु¥याउने भन्दै एजेन्टलाई लाखौं रकम दिएको उजुरी गर्न आउने क्रममा पीडितहरुले बताएको विभागका एक अधिकारीले भने । 

उजुरीकर्ताहरुमा राजकुमार चौधरी , परिमणि चौधरी , रामहरि भण्डारी , मुक्तिराज गिरी, लिला बहादुर पाण्डे र टासी शेर्पा रहेका छन् । 

विभागका अनुसार राजकुमार चौधरी र परिमणि चौधरीले अमेरिका जाने भन्दै २९ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ एजेन्टलाई दिएको भन्दै विभागमा उजुरी दर्ता गराएका छन् ।  उनीहरुले सरोज कुमार चौधरीलाई सो रकम बुझाएको र सो रकम फिर्ता पाँउ भन्दै उजुरी दर्ता गराएका हुन् । 

रामहरि भण्डारी र मुक्तिराज गिरीले पनि अमेरिका जाने भन्दै  ४७ लाख रुपैयाँ भन्दा बढी रकम एजेन्टलाई दिएका छन् । भण्डारीले एजेन्टलाई ३० लाख रुपैयाँ र  गिरीले १७ लाख ४५ हजार रुपैयाँ दिएका हुन्  । विभागका अनुसार उनीहरुले अर्थात् भण्डारीले विनोद बस्नेत र गिरीले कुमार मैनालीलाई सो रकम बुझाएको र रकम फिर्ता पाँउ भनि विभागमा उजुरी दर्ता गराएका हुन् । 

यस्तै लिला बहादुर पाण्डे र टासी शेर्पाले अमेरिका जाने भन्दै एजेन्टलाई क्रमश २७ लाख रुपैयाँ र ९ लाख ७५ हजार रुपैयाँ बुझाएका छन् । पाण्डेले अम्मर कुवँर र शेर्पाले शंकरप्रसाद नेपाललाई सो रकम बुझाएका हुन् । पीडितहरुले आफनो रकम फिताँ पाँउ भन्दै विभागमा उजुरी दर्ता गराएका छन् ।

विभिन्न मुलुक पठाइदिने नाममा  ठगी गरेको भन्दै दैनिक ४० देखि ५० वटा सम्म व्यक्तिगत र संस्थागत उजुरी दर्ता हुने गरेको विभागले जनाएको छ ।  एजेन्ट तथा व्यवसायीहरुले अमेरिका , युरोप, जापान जस्ता विकसित मुलुकमा पठाइदिने भन्दै मोटो रकम लिएको पाईन्छ । पछिल्लो समय विभागमा अमेरिकाका साथै दक्षिण अफ्रिका , लिबिया, माल्टा, पोल्यण्ड , जापान पठाइदिन्छु भन्दै ठगी गरेको भन्दै विभागमा उजुरी दर्ता भएको छ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थितगर्न नसक्दा कामदारहरु ठगिने क्रमले भने निरन्तरता पाई नै रहेको छ ।

वैदेशिक रोजगारीको नाममा ठगी भएको भन्दै विभागमा उजुरी दर्ता भइसकेको अवस्थामा भने विभागले प्रतिवादीलाई सात दिने, तीन दिने तथा २४ घण्टाको पत्र काट्ने गर्दछ । सात , तीन तथा २४ घण्टा पत्र काटेर उजुरीकर्ता र प्रतिवादीबीचको समस्या हल खोज्ने कार्य विभागले गर्ने गर्छ । सो अवस्थामा पनि समाधान नभएमा दुवै पक्ष कानुनी प्रक्रिया अनुसार अघि बढ्ने प्रचलन रहेको छ ।

विभागका अनुसार नेपालबाट संस्थागत र व्यक्तिगत दुवै रुपमा नेपाली कामदार अमेरिका जानको लागि अमेरिकी सरकारले खुल्ला गरेको छैन अर्थात् अमेरिका र नेपालबीच श्रम सम्झौताको विषयमा छलफल समेत नभएको विभागले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै