• २०८१ बैशाख ५ बुधबार

टमाटरको मुल्य पाँच बर्ष कै उच्च, विभागले थाल्यो रात्रीकालिन अनुगमन 

kharibot

काठमाडौं । तरकारीको मूल्य आकासिदै गएपछि वाणिज्य , आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार रात्रीकालिन अनुगमन सुरु गरेको छ । विभिन्न तरकारीको मूल्य बढ्नुको साथै गोलभेडाको मूल्य पाँचवर्ष यता कै उच्च भएसँगै विभागले अनुगमन गरेको थियो । 

विभागको टोलीले नियमित अनुगमनको क्रममा तर फरक समयमा अर्थात् आइतबारबाट रातिमा अनुगमन थालेको हो । विभागका अधिकृत पवन प्याकुरेलको नेतृत्वमा गएको ९ सदस्यीय टोलीले राजधानीमा तरकारी आयात हुने मुख्य नाका थानकोट चेकपोष्टमा अनुगमन गरेको थियो । विभागबाट खटिएका टोलीले राति १० बजेदखि ३ बजेसम्म १५-२० वटा तरकारी ढुवानी गरेका सवारी साधनलाई रोकी सोधपुछ गरेको थियो । 

टोलीले तरकारीको यर्थाथ मूल्यको जानकारी लिने उद्देश्यका साथ अनुगमन गरेको थियो तर त्यो सम्भव नभएको अधिकृत प्याकुरेलले बताए ।

‘अनुगमनको क्रममा टोलीले क्रेता र विक्रेता नभेटिनुका साथै बिलबिजक समेत भेटन नसक्दा समस्या हुनपुग्यो , ’ उनले भने ।  अनुगमनको क्रममा तरकारी ढुवानीकर्ता अर्थात् चालकमात्र भेट हुदाँ तरकारीको मूल्य थाहा पाउन सकेनौं अधिकृत प्याकुरेलले भने ।

यस्तै तरकारी उत्पादनकर्तासँग खरिदकर्ताले तरकारी बिक्री भएपश्चयात मात्र रकम दिने प्रचलन हुदाँ तरकारीको मूल्यको विषयमा जानकारी पाउन अनुगमन टोलीलाई असहज भएको विभागको भनाई छ ।

बजारमा तरकारीको मूल्य उच्च हुदै गएको भन्ने जनगुनासो आएसँगै विभागले अनगुमन गरेको जनाएको छ ।

पछिल्लो समय भारतमा भएको लोकसभा निर्वाचनका कारण तरकारी आयातमा कमी हुदाँ तरकारीको मूल्य उच्च हुन पुगेको छ । यस्तै काठमाडौं बाहिरका जिल्लामा केहि समय अघि आएको हावाहुरी तथा असिनापानीका कारण तरकारी बालीमा क्षति पुग्दा यसको मूल्यमा असर परेको विभागको भनाई छ । उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चका महासचिव प्रकाश पोखरेलले तरकारी क्षेत्रमा बिचौलियाको बाक्लो उपस्थितिलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्तामा मारमा परेको बताए ।

तर, कालिमाटी तरकारी व्यवसायी संघ भने तरकारीको भाउ नबढेको दाबी गरेको छ । संघका अध्यक्ष भरत खतिवडाले बाहिर आएजस्तो तरकारीको भाउ नबढेको बताए । ’भारतमा चुनाव सकिसकेको र वरपर जिल्लाबाट पनि तरकारी निरन्तर आइरहेको हुदाँ मूल्य वृद्धि भएको छैन,’ उनले भने । अध्यक्ष खतिवडाले गोलभेडाको मूल्यमा भने वृद्धि भएको स्वीकारदै पछिल्लो वर्षहरुमा पनि यो सिजनमा गोलभेडाको मूल्य भने उच्च नै रहने गरेको बताए । ‘बजारमा गोलभेडाको मूल्य बढेको हो जुन पछिल्ला सिजनहरुको यो समयमा बढ्ने गरेको थियो ,’ उनले भने । 

यस्तै अनुगमन पछि भने व्यापारीमा मनोवैज्ञानिक असरस्वरुप तरकारीको मूल्यमा कमी आउने विभागको भनाई छ ।

यसैबीच गोलभेडाको मूल्य सोमबार पनि सयरुपैयाँ भन्दा माथि नै छ । ठूलो तथा सानो गरी दुई प्रकारका गोलभेडा सोमबार १ सय ५ रुपैयाँ प्रतिकेजीमा व्यवसायीहरुले कालिमाटी फलफूल तथा तरकारी बजारबाट बेचिरहेका छन् ।

विभागका अनुसार यसअघि पाँचवर्षको अन्तरालमा तीनपटकमात्र गोलभेडाको होलसेल मुल्य नै मूल्य एक सय रुपैयाँ भन्दा माथि पुगेको थियो । मञ्चले होलसेलका साथै खुद्रा केन्द्रहरुमा तरकारीको मूल्य उच्च हुदाँ उपभोक्ता मारमा परेका जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै