• २०८१ बैशाख ८ शनिबार

डोटीमा गोलभेँडा प्रतिकिलो २ सय पुग्यो !

kharibot

डोटी । मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो । 

तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, “आवश्यकताअनुसार तरकारी उत्पादन  हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।” “तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्”, उनले भने ।

यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानीय उपभोक्तहरु बताउँछन् । केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्ता सोनु कामीले बताए । 

उनले भने, “प्रतिकिलो रु १०० मा पाइने गोलभेँडा मूल्य अहिले रु २०० पुगेको छ । काउली, सिमलगायतका तरकारीको भाउ पनि अत्यधिक बढेको छ, यसले हामीलाई धेरै समस्या भएको छ ।” पर्याप्तमात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारणले पनि तराई र भारतका विभिन्न स्थानबाट तरकारी आयात गर्नुपरेको छ । महँगो मूल्यमा आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताए । उनले भने, “जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो ।”

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाबाट समेत तरकारी आयात हुँदै आएको छ । स्थानीय बजारमा अहिले आलु प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ९० कम बिक्री भइरहेका छन् । 

यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसले पिच्छे तरकारीको मूल्य अलग अलग लिने गरेको उपभोक्ताको गुनासो छ । 

यहाँका तरकारी पसलमा पसलैपिच्छे अलगअलग मूल्य लिइँदै गरे पनि मूल्यमा एकरुपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, “पसलेपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै