• २०८१ बैशाख ७ शुक्रबार

राजपाका दुई केन्द्रीय सदस्य जेल चलान

kharibot

राजविराज । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजापा)का केन्द्रीय सदस्यद्वय जेल चलान भएका छन् ।

सप्तरी जिल्ला अदालतको आदेशमा राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डल सोमबार पुर्पक्षका लागि राजविराज कारागारमा चलान भएका छन् । 

न्यायाधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ । 

त्यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत ४ लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् ।

पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ । 

उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ । 

अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना कुम्ल्याउन नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको विषयमा प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै