काठमाडौँ । भारतको लुधियानामा जारि हिरो इन्डियन वुमन्स लिग (आईडब्ल्युएल) अन्तर्गत सेमिफाइनल खेलमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल टिमलाई ८-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेथु फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा नेपालको राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी सावित्रा भण्डारीले ४ गोल गरेकी छन् ।
खेलमा सावित्राले ४१औ, ५९औ, ६५औ र ९०औ मिनेटमा गोल गरेकी थिइन् ।
यसअघि उनले डेब्यु खेलमा समेत ४ गोल गर्दा बाँकी २ खेलमा १,१ गोल गरेकी थिइन् भने चौथो खेलमा ह्याट्रिक गरेकी थिइन् । समुह चरणको अन्तिम खेलमा उनले गोल गरेकी थिइनन् ।
सेथुको लागि प्लेयर अफ द म्याच बनेकी अर्की स्ट्राइकर ग्रेसले समेत ह्याट्रिक गरेकी थिइन् । उनले खेलको १३ औं, ४८ औं र ५२ औं मिनेटमा गोल गरेकी थिइन् ।
बुधबार हुने फाइनल खेलमा उपाधीको लागि सेथु फुटबल क्लबले मणिपुर पुलिस क्लबको सामना गर्नेछ ।
मणिपुरले आजै सम्पन्न अर्को सेमिफाइनलमा गोकुलम केरेला फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
सावित्राले प्रतियोगितामा अहिलेसम्म १३ गोल गरेकी छन् ।