• २०८१ बैशाख ७ शुक्रबार

सीपमुलक तालिम लिएको प्रमाणपत्रको आधारमा श्रम स्वीकृति मान्य हुदैन : रोजगार व्यवसायी संघ

kharibot

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेश जाने कामदारहरुलाई रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्रमा उल्लेख गरिएको पदलाई आधारमानी अन्तिम श्रम स्वीकृति दिनुपर्ने बताएको छ ।

वैदेशिक रोजगार विभागले विदेश जाने कामदारले सीप मुलक तालिम लिएको प्रमाणपत्र पेश गरे पछि मात्र श्रम स्वीकृति दिने भनेसँगै संघले सो प्रतिक्रिया जनाएको हो ।  

संघले मंगलबार विभागका महानिर्देशक डाक्टर भीष्मकुमार भूसाललाई ज्ञापनपत्र बुझाउदै सो निर्णय संशोधन हुनुपर्ने बताएको छ । यदि यथास्थितिमा सो निर्णय कार्यान्वयन गरेमा आफूहरु त्यसविरुद्ध कडा आन्दोलन गर्ने संघले चेतावनी समेत दिएको छ । 

संघले बुझाएको ज्ञापनपत्रमा विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ को व्यवस्थालाई परिमार्जन, संशोधन गरि रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्रमा उल्लेख गरिएको पदलाई आधारमानी अन्तिम श्रम स्वीकृति दिने व्यवस्था हुनुपर्ने जनाएको छ ।

संघले विदेशबाट सीप सिकेर आएका तर औपचारिक प्रमाणपत्र नभएका र देशमा काम गरी सीप सिकेका व्यक्तिहरुलाई सातै प्रदेशमा सीप परिक्षणको व्यवस्था गर्न विभाग समक्ष आग्रह गरेको छ । 

वैदेशिक रोजगारी वा स्वदेशको रोजगारीबाट सीप विकास गरी रोजगारदाता कम्पनीले प्रदान गरेको कामको अनुभवको प्रमाणपत्र , अन्तराष्ट्रिय सीप परीक्षण संस्थाबाट प्राप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन विभागले आवश्यक कार्यविधि तयार गर्नु पर्ने संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेको छ । विभागले राष्ट्रिय , अन्तराष्ट्रिय मापदण्ड र मान्यता प्राप्त गरि वैदेशिक रोजगार व्यवसायीद्धारा सञ्चालन भएका तालिम केन्द्रलाई प्राथामिकतामा राखी सूचीकृत गर्नु पर्ने संघले माग गरेको छ । 

विभागले केहि समय अघि सूचना जारी गर्दै विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरे पछि मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो । विभागले आगामि १५ गतेदेखि लागु हुने गरी विभिन्न १२ वटा पदमा काम गर्नका लागि विदेश जाने कामदारले सीप मुलक तालिम लिएको प्रमाणपत्र पेश गरे पछि मात्र श्रम स्वीकृति दिने बताएको थियो । 


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै