‘दलहरुले बिर्से शहीदका योगदान’

खरीबोट

बाँके । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधस्वरुप २०६२ चैत २४ गतेदेखि नेपालमा राजतन्त्र विरोधी आन्दोलन शुरु भयो । यो आन्दोलनलाई राजनीतिक दलहरुले जनआन्दोलनको संज्ञा दिएका थिए । राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! भन्दै देशभर राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलन उत्कर्षमा थियो ।

देशभरबाट कतै गोली चलेर आन्दोलनकारी घाइते भएका त, कतै मारिएका समाचारहरु आइरहेका थिए । नेपालगञ्जमा पनि आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । राजनीतिक दलका नेताहरु गिरफ्तारीमा पर्ने र छुट्ने क्रम चलिरहेको थियो । आन्दोलनमा सहभागी हुन गाउँगाउँबाट मानिसहरु नेपालगञ्ज ओइरिन्थे, दिनभर आन्दोलनमा सहभागी हुन्थे, साँझ परेपछि घर फर्किन्थे । गाउँलेहरुको २०६२ चैत २४ गतेदेखिको दैनिकी यसैगरी चलिरहेको थियो । 

जनआन्दोलनको १२ औं दिन अर्थात् २०६३ वैशाख ५ गते तत्कालीन सात राजनीतिक दलले नेपालगञ्जमा विशाल जनसागर ओराल्ने उद्घोष गरेका थिए । दलका कार्यकर्ताहरुले गाउँगाउँबाट नागरिकलाई सहभागी हुन आह्वान गरेका थिए । बिहानैदेखि बाँकेका गाउँगाउँबाट नागरिकहरु नेपालगञ्ज आउने क्रम चलिरहेको थियो । हजारौंको सङ्ख्यामा नागरिकहरु नेपालगञ्जका चारै दिशातर्फका विभिन्न स्थानमा जम्मा भइरहेका थिए ।

त्यही दिन नेपालगञ्जबाट झण्डै १० किलोमिटर पश्चिममा रहेको खजुराबाट एक महिला आन्दोलनमा आउन तयार भइन् । गाउँका धेरै व्यक्तिले ‘छोराहरु सानै छन्, श्रीमान् घरमा छैनन्, तिमी आन्दोलनमा नजाऊ’ भन्दै रोक्न खोजे तर, कसैको केही चलेन । उनलाई जसले आन्दोलनमा नआउ भन्दै सुझाउथ्यो, सबैलाई एउटै जवाफ दिन्थिन् – ‘मलाई छोराभन्दा देश प्यारो छ, मरे पनि देशका लागि मर्छु ।’ उनको जवाफका अगाडि सबै नतमस्तक हुन्थे ।

गाउँका छिमेकी महिलाहरुले पनि उनलाई धेरै सम्झाए तर, उनी टसमस भइनन् । उनी ट्र्याक्टर चढेर करीब १० किलोमिटरको यात्रा गर्दै नेपालगञ्ज पुगिन् र सामेल भइन् त्यो विशाल जुलुशमा । जुलुसको अग्रपङ्क्तिमा राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! भन्दै नारा लगाउँदै थिइन् । धम्बोझी चोकबाट विशाल जुलुसमा मिसिएर चर्को नारा लगाउँदै बिपी चोक, गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, एकलैनी हुँदै उनी सामेल भएको जुलुश तत्कालीन ज्ञानेन्द्र चोकतर्फ अघि बढिरहेको थियो ।

आन्दोलनकारीहरुले निर्माणाधीन ज्ञानेन्द्र चोक भत्काइरहेका थिए, कोही नाराबाजी गरिरहेका थिए । आन्दोलनकारीको एउटा समूहले नजीकै चौरमा रोकिएको बाँकेका तत्कालीन डिएसपी वसन्त लामाको गाडीमा आगजनी गरेसँगै प्रहरीले आन्दोलनमा हस्तक्षेप गर्न शुरु ग¥यो । प्रहरीले लाठी वर्षाउन थाल्यो । अश्रुग्यास र गोली चल्यो, मान्छेको भागाभाग भयो । विसं २०६३ वैशाख ५ गते हजारौं मानिसका बीचमा रहेकी तिनै निडर र निर्भिक सिमलघारी खजुराकी सेतु विकको छातीमा अश्रुग्यास लाग्यो ।

उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । त्यस बेला उनका श्रीमान् शेरबहादुर विक भारतको गुजरातमा थिए । शेरबहादुर त्योभन्दा २/३ दिनअघि घर आउन खोजेका थिए । श्रीमतीले ‘यहाँ त जनआन्दोलन चर्किएको छ, पान पसलसमेत खुला छैन, अहिले नआउनू’ भनेर खबर गरेकी थिइन् । श्रीमान्ले पनि श्रीमतीको कुरामा सही थापे, घर फर्किएनन् । कुरा भएको केही दिनमै शेरबहादुरलाई फोन गयो – ‘तपाईकी श्रीमती घरमा बिरामी छन्, छिटो आउनू ।’

शेरबहादुर हतारिएर आए, घरमा आउँदा पो थाहा पाए, श्रीमती त जनआन्दोलनमा प्रहरीको अश्रुग्यास लागेर शहीद भएकी रहिछन् । सेतु विकका तीन सन्तान सबै स–साना थिए । २०६२–६३ को जनआन्दोलनमा बाँकेकी सेतु विक शहीद भइन् । त्यही दिन हो नेपालगञ्जमा सबैभन्दा ठूलो भीड जम्मा भएको । त्यही दिन शेरबहादुर र उनका सन्तानलाई कहिल्यै निको नहुने घाउ लाग्यो । त्यही ज्ञानेन्द्र चोकलाई पछि शहीद सेतु विक चोक नामकरण गरियो । त्यहाँ अहिले सेतुको शालिक राखिएको छ ।

शहीद पति शेरबहादुर अहिले खजुरा–नेपालगञ्ज सडकमा अटोरिक्सा चलाउँछन् । त्यसैबाट उनको गुजारा चलेको छ । उनी भन्छन् – “दिनको एकपटक मैले यो चोक (सेतु विक चोक) को फन्को लगाउँछु । यात्रु पाएर मात्रै होइन, नपाए पनि म यो चोकको दिनमा एकपटक फन्को लगाउँछु । उनको याद गर्छु ।” सेतु विक शहीद भएपछि उनका तीन नाबालक छोराहरुको पढाइलेखाइको कुरा आयो । जनआन्दोलन निष्कर्षमा पुग्नै थालेको बेला थियो, त्यो ।

धेरै विद्यालयहरुले उनका छोराछोरीलाई निःशुल्क पढाइदिने आश्वासन मात्रै होइन, घोषणा नै गरे तर, बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा कान्छो छोरा सुमनलाई एसओएसले पढाइदियो । अहिले पनि सुमन त्यहीँ छन् । सात उत्तीर्ण भएर आठ कक्षामा पुगे । अरु दुई छोराहरु जेठो र माइलो खजुराकै दीपक बोर्डिङमा पुगे । शेरबहादुर भन्छन् – “दीपकलाई शुरुआतदेखि नै पैसा लिएर पढायो । पैसा तिर्न नसकेपछि छोराहरुलाई पढ्न छुटाए ।” शेरबहादुरका अनुसार, नेपालगञ्जको सिटी पब्लिक स्कूलले एक बच्चालाई निःशुल्क पढाइदिने मञ्चबाटै घोषणा गरेको थियो  ।

पछि त्यहाँ जाँदा पढाउन नसक्ने जवाफ पाए उनले । शहीदका छोराछोरीलाई निःशुल्क पढाउनुपर्छ भनेर अभियान चलाउनेहरु विस्तारै पन्छिए । कोहीले वास्ता गरेनन् । पैसा नभएपछि शेरबहादुरले छोराहरुलाई विद्यालयबाट छुटाए । सरकारी विद्यालयमा भर्ना भएका जेठो छोरा सुरज पढाइ छाडेर मजदुरी गर्ने भन्दै भारतको गुजरात पुगे । माइलो सागर सुर्खेतस्थित चाउमिन कम्पनीमा काम गर्छन् । देशका लागि लडेका शहीदका छोराछोरीले पढ्न भने पाएनन् ।

सरकारले शहीदका छोराछोरीलाई वार्षिक रु १६ हजार पढाइ खर्च दिने गरेको शेरबहादुरले बताए । तर, जेठो छोरोले पढाइ छाडेपछि माइलाको मात्रै पढाइ खर्च आउन थालेको छ । त्यस्तै, सरकारले दिएको रु १० लाख तीन छोराको नाममा संयुक्त खाता खोलेर बैंकमा राखिएको छ । “छोराका नाममा जम्मा भएको त्यो पैसा मैले चलाउन पाउँदिनँ, मासिक पाउने गरेको थोरै जीवन निर्वाह भत्ताले परिवार पालेको छु,” उनले भने – “मासिक भत्ता पाउने रकम ६ महिनापछि दिइन्छ । त्यसैले परिवार पालेको छु ।”

शेरबहादुरले शहीद सेतु विक चोकलाई दैनिक एक फन्का लगाउँछन् । तेह्र वर्षअघिको जनआन्दोलनमा पत्नी सेतु विकलाई गुमाएका शेरबहादुर पत्नीको याद मेटाउन उनको मूर्ति हेर्नकै लागि त्यहाँ पुग्छन् । श्रीमतीसँग मृत्युअघि उनलाई जीवितै भेट्न पाएनन् । नेपालमा आन्दोलन शुरु हुनुअघि श्रीमतीलाई घर खर्चका लागि १० हजार भारतीय रुपैयाँ पठाएको शेरबहादुर सम्झन्छन् । उनी भन्छन्, “घरखर्च चलाउन र छोराहरु पढाउन भनेर १० हजार भारु पठाए । उनले त्यो पैसा मासेकी रै’नछिन् । पठाएको पैसा अटैचीमा सुरक्षित राखेकी थिइन् ।”

श्रीमती बिरामी भएको खबर पाएलगतै उनी गुजरातमा गरिरहेको कामलाई थाती राखेर नेपाल फर्किए । उनलाई आन्दोलनमा परेर मृत्यु भइसकेको खबर भने दिइएको थिएन । नेपाल पुगेपछि मात्रै श्रीमती जीवित नरहेको उनले थाहा पाए, त्यो पनि आन्दोलनमा । उनले श्रीमतीको जीवित अनुहार भने देखेनन् । श्रीमतीको मृत्युपछि उनी गुजरात फर्किएका छैनन् । शेरबहादुरले अहिले अटोरिक्सा चलाउँदै दैनिकी गुजारिरहेका छन् । यसअघि गाउँमै सानो पसल गर्ने गर्थे शेरबहादुर ।

रिक्सा चलाएर दैनिक रु एक हजारसम्म कमाउँदै आएका शेरबहादुरले सेतु शहीद भएको ११ महिनापछि स–साना छोराहरुलाई रेखदेख गर्न सजिलो होस् भनेर दोस्रो विवाह गरेको बताए । दोस्रो श्रीमती सुजिता विकबाट पनि सात वर्षकी छोरी छन् । उनले भने – “रिक्सा चलाउँदै दिनमा एकपटक सेतु विक चोकमा पुग्छु । उनी देशको लागि लडिन्, म उनको सम्मानकै लागि उनलाई सम्झेर त्यहाँ पुग्ने गरेको छु । सेतुको याद दिनहुँ आउँछ । म चाहेर पनि उनलाई बिर्सिन सक्दिन ।”

जनआन्दोलनपछिको समयले आफ्नो जिन्दगीमा धेरै परिवर्तन ल्याएको शेरबहादुरको बुझाइ छ । “मलाई सबै राजनीतिक दल उस्तै लाग्छन्,” उनले भने – “शहीद परिवारलाई कसैले खोज्दैनन्, न त शहीद परिवारको कसैले सम्मान नै गर्ने गरेका छन् । अहिले राज्यले केही वास्ता नगरेको जस्तो महशुस हुन्छ ।” सेतु विक शहीद भएपछि राज्यले १० लाख रकम दियो, त्यो रकम कृषि विकास बैंकमा छ । जबसम्म कान्छो छोरा १६ वर्ष पुग्दैन तबसम्म त्यो पैसा चलाउन पाइँदैन ।

“राज्यले जीवन निर्वाह भत्ता भनेर मासिक रु सात हजार दिने गरेको छ, त्यसले केही गर्न पनि पुग्दैन, यिनै शहीदहरुको बलिदानले नेताहरु सत्तामा पुगे, महल ठड्याए, शहीदलाई बिर्सिए,” शेरशहादुरले भने । वैशाख ५ गते नेपालगञ्जको सेतु विक चोकमा दलहरुले एउटा बत्तीसम्म बाल्न छोडेपछि उनी आफैं त्यहाँ पुगेर पानी, अबिर, धूपबत्ती, माला, लड्डु चढाउँछन् । श्रीमतीको शालिकमा अबिरको टीका लगाउँछन् । उनले भने – “राजनीतिक दलहरुले सम्झन छोडिसके । दलहरुले वर्षको एकदिन त उनको योगदानलाई सम्झन पथ्र्यो ।”

सम्बन्धित समाचार

शहीद स्मारकका पदाधिकारीले १० दिनसम्म पनि हटाएको पत्र पाएनन् 

काठमाडौँ । काम थालेको आठ वर्षसम्म अलपत्र रहेको राष्ट्रिय शहीद स्मारक व्यवस्थापन समितिका पदाधिकारीलाई हटाइएको १० दिनसम्म पनि पत्र दिइएको छैन ।  शहरी विकास मन्त्रालयले यही जेठ १० गते समितिका पदाधिकारीलाई

शहीद गंगालालका इन्जिनियरको प्रमाण पत्र नक्कली !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीप कुमार यादवले नक्कली प्रमाणपत्रले जागिर खाएको भन्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  अख्तियारले यादवको

गोकर्णको शहीद स्मारकका पदाधिकारी हटाइयो

काठमाडौँ । गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार वर्षदेखि अलपत्र भएपछि समितिका पदाधिकारीलाई हटाइएको शहरी विकास मन्त्रालयले जनाएको छ । साविकको शान्ति तथा

‘दलहरुले बिर्से शहीदका योगदान’

बाँके । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधस्वरुप २०६२ चैत २४ गतेदेखि नेपालमा राजतन्त्र विरोधी आन्दोलन शुरु भयो । यो आन्दोलनलाई राजनीतिक


z