• २०८१ बैशाख १३ बिहीबार

चितवन राष्ट्रिय निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

kharibot

चितवन । वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार ताल निर्माण र संरक्षणका लागि रु एक करोड ६१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बाँकी ताल र पोखरीको काम असारभित्र सम्पन्न गरिसक्ने उनले बताए । ढकालले प्रत्येक ताल र पोखरीमा रु दुई लाख खर्च गरिएको जानकारी दिए ।

ताल र पोखरीको स्तरोन्नति गर्दा पानीको स्रोत व्यवस्थापन, पुरिएको माटो निकाल्ने, जलकुम्भी झार व्यवस्थापन, चुरेबाट आएको माटोका ढिस्को प्राकृतिक ताल र पोखरीमा छेकबार गर्ने काम गरिएको छ ।

वन्यजन्तुका लागि नियमितरूपमा आवश्यक पर्ने पानीको अभाव हुने हुँदा स्थायी पानीका स्रोतहरुसँगै अन्य स्थानमा खानेपानीका लागि, वन्यजन्तुलाई आहाल बस्ने प्रयोजनका लागि र वन डढेलो नियन्त्रण समेतको लागि यस कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जनावरको मुख्य बासस्थानको छेउछाउको स्थान पहिचान गरी पोखरी निर्माण गरिएको हो ।

निकुञ्जमा साना–ठूला २०० बढी ताल र पोखरी छन् । पोखरीमा बाघको आहारा प्रजातिले पानी पिउने, बाघले पौडी खेल्ने, गैंँडा र हात्तीले आहाल खेल्ने गर्दछन् । निकुञ्जमा रहेका सबै वन्यजन्तुका लागि पानी आवश्यक पर्दछ । निकुञ्जमा लामीताल, देवीताल, तमोरतालजस्ता ठूला पर्यटकीय महत्व बोकेका तालसमेत छन् ।

चितवन राष्ट्रिय निकुञ्जसँगै यस आसपासका सामुदायिक वनले पनि पानीको स्रोत व्यवस्थापनलाई प्रथामिकतामा राखेर काम गरिरहेको निकुञ्जले जनाएको छ । बाढी र जलवायु परिवर्तनका कारण मुल सुक्नुका साथै ताल र पोखरीको प्राकृतिक संरचना बिग्रिएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै