• २०८१ बैशाख ४ मंगलबार

कांग्रेस संसदीय समितिले काम सुरु गर्यो, बन्दसूची बनाउन शुरु

kharibot

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ । 

पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए । 

समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उनले बताए । जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको थियो । 

समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने नेता खाँडले बताए । बैठक सुक्रबार पनि बस्नेछ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गरेका थिए । 

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्नसक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्नसक्ने प्रावधान भए पनि १७ सदस्यीय समिति गठन गरिएको छ । 

१७ सदस्यीय संसदीय समितिमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै