• २०८१ बैशाख ११ मंगलबार

प्रधानमन्त्री एकदिवसीय क्रिकेट : उद्घाटन खेलमा आर्मी विजयी

kharibot

काठमाडौँ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो ।

२७९ रनको विजयी लक्ष्य पछ््याएको प्रदेश नं २ ले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई एक सय ७ रन मात्र बनायो । प्रदेश नं २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए । सम्साद शेखले १६, सुधीर चौधरीले १५, राशिद खानले १४ र सुरज पटेलले ११ रन बनाए । बलिङ्तर्फ आर्मीका शाहब आलमले चार विकेट लिए । सुशन भारीले तीन, जीतेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए ।   

यसअघि आर्मीको ब्याटिङ शुरुआत राम्रो रह्यो । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले एक सय २१ रनको साझेदारी निभाए । रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे । भण्डारीले नौ चौकासहित ६६ रनको योगदान दिए । 

यस्तै रोहित पौडेलले ४७, हरिबहादुर   चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा राशिद खान, विवेक यादव र विशाल सुसलिङले एक÷एक विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए । 

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेशका टोलीको सहभागिता छ । समूह ‘ए’ मा एपिएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै