हेटौँडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाहीका कारण हेटाँैडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत  हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइनको काम  सन्तोषजनक नभएको पाइएपछि ठेकेदार कम्पनी ‘आइकम टेल इण्डिया’सँगको ठेक्का तोडिएको हो । कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करीब १६ लाख डलर विलम्ब जरिवाना लगाउने निर्णय गरेको छ ।  

प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको ‘सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)’सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालोसूचीमा राख्ने निर्णय गरिसकेको छ । ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपालस्थित प्रतिनिधिसहितको टोलीले आइतबार र आज मकवानपुरको हेटौँडामा रहेको आयोजना निर्माणस्थलको निरीक्षण गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण ठप्प पारी ठेक्का सम्झौताको उल्लङ्घन गरेकाले ठेक्का तोडिएको जानकारी दिए । “कार्यस्थलमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक–पटक निर्देशन दियौँ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, पत्राचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लङ्घन गरेकाले ठेक्का तोडिएको हो”, उनले भने, “नयाँ ठेक्कापट्टाको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै बोलपत्र आह्वान गछौँ ।”  

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौँडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि विसं २०६५  फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । सो खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ ।

कूल १२ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ । आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट प्रसारण निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी ‘हेङटन अप्टिक्स इलेक्ट्रिक’सँग विसं २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा पर्ने २४६ टावरमध्ये १३७ को जग हालिएको छ भने १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण विसं २०७६ माघभित्र सक्ने लक्ष्य छ ।  

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणका तर्फबाट गर्नुपर्ने रुख कटान र निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाए । उनले महत्वपूर्ण आयोजनाको कामलाई तीव्रता दिने गरी श्रमिकको सङ्ख्या थप्न आग्रह गरे । नेपालभित्रको प्रसारण लाइन सुदृढ र विश्वसनीय बनाउन तथा पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको छ । कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकको टोलीले हेटौडामा निर्माणाधीन सव–स्टेसनको निर्माण प्रगतिबारे जानकारी लिएको थियो ।

हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा, भरतपुर र बर्दघाटमा १३२ केभी क्षमताका सव–स्टेसन निर्माण भइरहेको छ । हेटौडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडामा २२० तथा ४०० केभी क्षमताका सव–स्टेसन पनि निर्माण भइरहेको छ । प्रसारण लाइन र सव–स्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुनेछ ।

सम्बन्धित समाचार

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन।  नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न

बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

नेपालगञ्ज । बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हट्यो : ४५ दिनभित्रमा सम्पन्न गरिने

काठमाडौँ । विवादको भूमरीमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र इनर्जी बैंकिङमा सहमति 

काठमाडौँ । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र


z