• २०८१ बैशाख १२ बुधबार

विश्वकप क्रिकेटका यी रेकर्ड्स, कति तोडिएलान् यसपटक ?

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म हुने यस विश्वकपमा १० टिमले भाग लिदै छन् ।

अहिलेसम्म सम्पन्न एघार संस्करणसम्म कैयौ यस्ता रेकर्ड बनेका छन् जसलाई तोड्न लामो समय पर्खिनु पर्ने देखिन्छ ।

धेरै फाइनल खेल्ने रेकर्ड :

अहिलेसम्म भएका सबै ११ विश्वकपमा भाग लिदै अस्ट्रेलिया ७ पटक फाइनलसम्म पुगेको थियो । जसमा ५ पटक विजेता बन्न सफल भयो । अस्ट्रेलिया पहिलो विश्वकपमा वेस्टइन्डिजसँग र सन् १९९६ को विश्वकपमा श्रीलंकासँग पराजित हुदै उपविजेता बनेको थियो ।

धेरै खेल खेल्ने र जित्ने रेकर्ड : 

अस्ट्रेलिया विश्वकपमा अहिलेसम्म धेरै खेल जित्ने टिम पनि हो । अस्ट्रेलियाले अहिलेसम्म विश्वकपमा खेलेका कुल ८४ खेलमा ६२ खेल जितेको छ भने २० खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेलको कुनै परिणाम आएन भने एक खेल बराबरीमा सकिएको छ ।

विश्वकपमा धेरै रन :

विश्वकप क्रिकेटमा धेरै रन बनाउने खेलाडी भारतका सचिन तेन्दुलकर हुन् । सचिनले ६ विश्वकपका ४५ खेलमा २२७८ रन बनाएका छन् । यस सुचिमा दोस्रो स्थानमा अस्ट्रेलियाका रिक्की पोन्टिङ रहेका छन् । उनले विश्वकपमा ४६ खेलमा १७४३ रन बनाएका छन् । त्यस्तै श्रीलंकाका कुमारा सांगाकाराले ३७ खेलमा १५३२ रन बनाएका छन् ।

धेरै शतक :

विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वाधिक रन १५२ रहेको छ ।

त्यस्तै दोस्रो धेरै शतक बनाउने खेलाडी श्रीलंकाका कुमारा संगाकारा र अस्टेलियाका रिक्की पोन्टिङ    हुन् । संगाकाराले ३७ खेलमा र पोन्टिङले ४६ खेलमा ५-५ शतक बनाएका छन् । त्यस्तै भारतका सौरभ गांगुली, दक्षिण अफ्रीकाका एबी डिभिलीयर्स, अस्ट्रेलियाका मार्क वाग, श्रीलंकाका तिलकरत्ने दिलसान र महिला जयवर्धनेले ४-४ विश्वकप शतक प्रहार गरेका छन् ।

धेरै अर्धशतक :

विश्वकप क्रिकेटमा धेरै अर्धशतक बनाउने खेलाडी पनि भारतका सचिन तेन्दुलकर नै हुन् । सचिनले विश्वकपमा सबै भन्दा धेरै २१ अर्धशतक बनाएका छन् । त्यस्तै सचिनपछि श्रीलंकाका कुमारा संगाकाराले १२ र अष्ट्रेलियाका रिक्की पोन्टिङले ११ विश्वकप अर्धशतक बनाएका छन् ।

धेरै विकेट :

विश्वकप क्रिकेटमा धेरै विकेट लिने खेलाडी अस्ट्रेलियाका ग्लेन म्याग्रा हुन् । म्याग्राले विश्वकपमा ३९ खेलमा ७१ विकेट लिएका छन् । त्यस्तै दोस्रो धेरै विश्वकप विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलिधरन हुन् । मुरलिधरनले विश्वकपमा ४० खेलमा ६८ विकेट लिएका छन् । त्यस्तै पाकिस्तानका पुर्व तिब्र गतिका बलर वाशिम अक्रमले विश्वकपमा ३८ खेल खेल्दै ५५ विकेट लिएका छन् । श्रीलंकाका चामिन्दा भासले ३१ खेलमा ४९ विकेट लिदै विश्वकपमा धेरै विकेट लिने खेलाडीको सुचिमा चौथो स्थानमा रहेका छन् । भारतका बलर जाहिर खान र जवागल श्रीनाथले विश्वकपमा ४४-४४ विकेट लिदै पाँचौ र छैठौ स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै