• २०८१ बैशाख १२ बुधबार

राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र आजको आवश्यकता – कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माणबारे बहस शुरु गर्न प्रस्ताव गरेका छन् ।

पार्टीको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजादेखि विप्लव माओवादी सम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माण गर्नेबारे समेत बहस शुरु गर्नुपर्ने समय आइसकेको बताउँदै कसैलाई निषेधित गरिँदा लोकतन्त्रमाथि खतरा भइरहने भएकोले यसतर्फ सचेत रहन सबै राजनैतिक दलहरुलाई आग्रह गरे ।

परिवर्तनको नाममा लादिएको गणतन्त्रात्मक राजनीतिक अभ्यासले जनतालाई के फाइदा भयो ? भन्दै अध्यक्ष थापाले ठण्डा दिमागले सोचेर सबै समेटिने अवस्थाको सिर्जना गरिनुपने बताए । 

यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने गरीबी र वेरोजगारी समस्या, भ्रष्टाचार, सनातन धर्ममाथी संगठित र योजनावद्ध रुपमा भइरहेको आक्रमण, सर्वसत्तावादी प्रवृती, वाह्य शक्तिको हस्तक्षेप तथा देश विखण्डनको खतरा र नयाँ माओवादीको पुनर्उदय जस्ता चुनौतिसँग सामना गर्न राज्यले नसक्ने उहाँले ठोकुवा गरे ।

राप्रपाले २०७६ साललाई पार्टीको संगठन निर्माण वर्षको रुपमा लिएर अघि बढिसकेको भन्दै अध्यक्ष थापाले ७५३ वटै स्थानीय निकायमा पार्टीका भातृसंगठनहरुको गठन सँगसँगै जनमुखी एवं जनसंघर्षका कार्यक्रमहरु गदै जाने रणनीति अनुसार पाटी अगाडि बढेकोले समान विचारधारा बोकेका पार्टी तथा संगठनहरुलाई एकता गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आह्वान समेत गरे ।

पार्टीले अघि सारेका एजेण्डालाई गन्तव्यमा पुर्याएर मात्र विश्राम लिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष थापाले यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले पार्टीको सस्थापक मुलधार राप्रपा नै भएकोले राप्रपा संयुक्त एवं समान विचारधारा बोकेका अन्य संगठनहरुलाई मुलधारमा समाहित हुन आग्रह गरे ।

सम्बोधनकै क्रममा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले पार्टीले जनतालाई  एजेण्डा बारे राम्रो सँग बुझाउन नसक्दा हार व्यहोर्नु परेको बताउँदै अहिले जनताले विकल्प खोजिरहेको हुँदा राप्रपानै अहिलेको विकल्प भएकोले राप्रपाको झण्डामुनी गोलबद्ध हुन सबैमा आग्रह गरे ।

पार्टीको २९ औं स्थापना दिवस कार्यक्रममा पार्टीका उपाध्यक्ष रोशन कार्की, काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी, भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले पार्टी स्थापनामा अग्रणी भूमिका निर्वाह गर्ने दिवंगत नेताहरु सूर्य बहादुर थापा, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती, हेम बहादुर मल्ल, जोगमेहर श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, कृष्णचरण श्रेष्ठ लगायतको तस्बिरमा माल्यार्पण गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै