• २०८१ बैशाख ७ शुक्रबार

आयोजक इङल्याण्डलाई दक्षिण अफ्रिकाको चुनौती : ब्याटिंग भर्सेज बलिङको प्रतिष्पर्धा

kharibot

काठमाडौँ । एकदिवसिय क्रिकेट विश्वकपको १२औं संस्करण आजदेखि इङल्याण्ड र वेल्समा सुरु हुँदैछ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्दै छन् । सबै देशले एक अर्कासँग एक एक पटक खेलेपछि शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने फर्म्याटमा यो विश्वकप खेलाईदै छ ।

विश्वकप क्रिकेटको महाकुम्भको उद्घाटन खेलमा आज आयोजक देश इङल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा ३ बजेदेखि लन्डनमा शुरु हुने छ ।

अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि जित्न नसकेका यी दुई देशबीचको यस विश्वकपको पहिलो खेल रोचक हुने सजिलै अनुमान गर्न सकिन्छ । इङल्याण्ड यस अघि ३ पटक फाईनलमा पराजित हुदै विश्वकप जित्नबाट बन्चित भएको छ भने दक्षिण अफ्रिकाले अहिलेसम्म विश्वकपमा फाईनलसम्म पुग्न नै असफल भएको छ ।

हालसम्म यी दुई देशबीच ५९ खेल भएकोमा अफ्रिका २९ खेलमा विजयी भएको छ भने इङल्याण्ड २६ खेलमा विजयी भएको छ । यी दुई देशबीच ३ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

तर यसपटक तुलनात्मक रुपमा इङल्याण्डको टिम बलियो देखिएको छ । इङल्याण्ड आइसीसी वरियतामा एकदिवसीय क्रिकेटमा शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ ।

दक्षिण अफ्रिका आफ्ना तिब्रगतिका बलर डेल स्टेन घाइते भएका कारण यस खेलमा उनी बिना खेल्दै छ भने इङल्याण्डका कप्तान इयोन मोर्गन औला भाँचिएका कारण केहि अभ्यास खेल गुमाए पनि यस खेलमा खेल्ने बताइएको छ ।           

इङल्याण्ड जोनी बैरस्ट्रव, जेसन रोय जस्ता खेलाडीको निरन्तरको उत्कृष्ट प्रदर्शनका कारण बलियो देखिएको छ । दुवै खेलाडीको आक्रामक ब्याटिंग गर्ने शैलीले इङल्याण्डले खेलमा आक्रामक शुरुवात गर्ने गरेको पछिल्ला खेलहरुमा देखिएको छ । त्यस्तै इङल्याण्डका मध्यक्रममा जो रुट, कप्तान इओन मोर्गन र जस बटलर जस्ता भरपर्दा ब्याट्सम्यान रहेका छन् भने टम कुरान, क्रिस वोक्स र मोइन अलीले पनि ब्याटिंगमा राम्रो योगदान गर्ने क्षमता राख्ने गर्दछन् ।

त्यस्तै जोफ्रा आर्चरको टिममा आगमनले इङल्याण्डको बलिङ लाइनअप पनि बलियो देखिएको छ । त्यस्तै बेन स्टोक्स, टम कुरान र मार्क उड तीव्र गतिको बलरको भुमिका निर्वाह गर्ने छन् भने स्पिनर मोइन अली, आदिल राशिद र लियाम डसनले स्पिन बलिङ सम्हाल्ने छन् ।

त्यस्तै दक्षिण अफ्रिकाको हसिम अमला र क्विन्टन डिककले ओपनरको भूमिका निभाउने देखिएको छ । त्यस्तै एडन मार्करम, फाफ डु प्लेसिस, डेविड मिलर र रस्सि भान डुसेनले दक्षिण अफ्रिकालाई बलियो बनाउने देखिन्छ क्रिस मोरिस र जेपी ड्यूमिनीको क्षमता पनि लामो पारी खेल्ने रहेको छ ।

त्यस्तै बलिङतर्फ कागिसो रबाडा दक्षिण अफ्रिकाका प्रमुख हतियार हुन् भने अनुभवी इमरान ताहिरले दक्षिण अफ्रिकाको बलिङलाई बलियो बनाएको छ । यस बाहेक लुन्गी निडी, एन्डिले फेलुक्वायो जस्ता तीव्र गतिका बलरले दक्षिण अफ्रिकालाई थप बलियो बनाएको छ । 
समग्रमा हेर्दा इङल्याण्डको ब्याटिंग भर्सेज दक्षिण अफ्रिकाको बलिङबीचको प्रतिष्पर्धा यो खेल हुने देखिन्छ ।

इङल्याण्डको टिम : इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स भिन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, लियाम डसन, क्रिस वोक्स, मार्क वुड ।

दक्षिण अफ्रिकाको टिम : फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै