• २०८१ बैशाख ८ शनिबार

खडेरीले मकैको बोट सुकेपछि काभ्रेपलाञ्चोकका किसान चिन्तित

kharibot

काभ्रेपलाञ्चोक । खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।

मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका ठाउँमा मकैको बोट नै सुकेर गएको किसानको भनाइ छ ।

वडा नं १ गोकुलेका किसान दिलदास श्रेष्ठले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाडेर बस्तुलाई दिन थालेको बताए । “प्रायजसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोटसमेत सुकेर काम नलाग्ने अवस्था भइसक्यो”, उनले भने, “अब कसरी जीविकोपार्जन गर्ने ?” अब त बारी खाली बनाउनुको विकल्प नभएको उनको भनाइ छ । जहिले पानी पर्छ त्यही बेला धानको बीउ रोप्ने मनसायमा किसान पुगेको उनले बताए ।

अर्का किसान धकबहादुर दर्लामीले करीब डेढ महीनादेखि पानी नपरेका कारण लगाएको मकैको बोट सुकेर गएको बताए । “गाउँको मुख्य बालीका रुपमा रहेको मकै नै खान नपाउने अवस्था सिर्जना होला जस्तो छ”, उनले भने, “अब पनि पानी परेन भने लगाएको बोटबाट फल लाग्ने अवस्था कम छ ।” फेददेखि नै सुक्दै गएकाले पानी परे पनि फलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

“दुःख गरेर लगाएको बाली टिप्न नपाउने अवस्था भयो, अब कसरी ज्यान पाल्ने हो”, दर्लामीले भने, “यसपालि खाने अन्नको सङ्कट पर्ने भयो ।” वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले लामो समयसम्मको खडेरीका कारण बारीमा मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेको बताए । “बारीमा लगाएको मकैको बोट फेददेखि नै सुक्न थाल्यो, अब के गर्ने भन्ने चिन्तामा किसान परेका छन्”, उनले भने, “अहिलेसम्म नभएको अवस्था यसपालिको खडेरीले उब्जाएपछि खाद्य सङ्कट नै हुने अवस्था सिर्जना होला जस्तो छ ।”

मुख्य बाली नै सुकेर टिप्न नपाउने अवस्था भएपछि वडा कार्यालयमा किसानले समस्याको समाधानका लागि उपाय खोज्नका लागि आग्रह गर्न आउने गरेको उनले बताए । “हामीले पनि के नै गर्न सकिन्छ र”, उनले भने, “किसानको गुनासो सुनेर बस्नुको विकल्प छैन ।” सिँचाइको व्यवस्थापनका लागिसमेत खासै विकल्प नभएको उनको भनाइ छ । अब त्यसका लागि गाउँपालिकाबाट नै केही गर्नका लागि विकल्प खोज्ने विषयमा कुरा गर्न आवश्यक भइसकेको उनले बताए ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाभित्रको अधिकांश ठाउँमा खडेरीका कारण मकैको बोट सुकेर बालीमा समस्या देखापरेको बताए । “गाउँपालिकाको धेरैजसो वडामा यसखालको समस्या सिर्जना भएको छ”, उनले भने, “अब किसानको हितका लागि गाउँपालिकाले के गर्न सकिन्छ, त्यसबारेमा नीति नै बनाएर काम गर्नुपर्ने अवस्था रहेकाले यस सम्बन्धी छिट्टै नै विकल्प खोज्ने तयारीमा रहेका छौँ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै