• २०८१ बैशाख ७ शुक्रबार

सरकारी अनुदानबाट गोरखामा २६ सय घर बने

kharibot

गोरखा / सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।

यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा दुई हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।

यस्तै, दश हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिश गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् । पुनःनिर्माण प्राधिकरणले आज गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले छ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म पाँच हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए । यिनीहरुलाई सात दिनको तालीम दिइएको थियो ।

पचास दिने तालीम दिएर चार हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म दुई हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै एघार वटा स्थानीय तहमा ३९५ वटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ वटा मात्रै घर बनेका छन् । गोरखा जिल्लाभर एघार हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इञ्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । सात हजार ४२४ जनाको घर पुनः सर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरु सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै