• २०८१ बैशाख १३ बिहीबार

अन्नपूर्ण आरोहण दिवस मनाइँदै

kharibot

पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापी रुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमाल पोखराको विशिष्टीकृत पहिचान हो । अन्नपूर्ण हिमालकै कारण पहिलो पटक पोखराको पर्यटनले विश्व बजारमा स्थान पाएको हो । 

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रुपमा लिने गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा बताउछन् । उनका अनुसार अन्नपूर्ण हिमालको आरोहणका क्रममा मौरिस हर्जोग नेतृत्वको टोलीले पोखराबाटै हिमाल आरोहणको यात्रा शुरु गरेको थियो ।

पोखराबाट लुम्ले, लान्द्रुक हुँदै उक्त टोली अन्नपूर्ण हिमाल पुगेको थियो । पहिलो पटक फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथमको उचाइ आठ हजार ९१ मिटर रहेको छ ।

आरोहण सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो आरोहणका हिसाबले विश्वको सबैभन्दा जेठो हिमालका कारण यसको गरिमा र महत्व छुट्टै छ ।

“पोखराको पर्यटकीय पहिचानमा अन्नपूर्ण हिमालको महत्वपूर्ण योगदान रहेकाले पोखरेली पर्यटन व्यवसायीका मनमनमा यो हिमाल रहेको छ”, उनले भने, “यसको  गरिमा र महत्वलाई जोगाउने किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।” 

अन्नपूर्ण प्रथमको आरोहणसँगै सन् १९५० देखि १९६० को दशकमा पोखरामा हिप्पी पर्यटकको आगमन बढेको पाइन्छ । त्यस यता मात्रै पोखरा विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको हो ।

अन्नपूर्णको गरिमा र महत्वलाई बचाउन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले उक्त हिमालको पहिलो आरोहण गरिएको दिन जुन ३ मा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ । सङ्घका अध्यक्ष हरि भुजेलका अनुसार यस वर्षको अन्नपूर्ण आरोहण दिवस कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा मनाउन लागिएको छ ।

“प्रत्येक वर्ष अन्नपूर्ण हिमाल देखिने एक सय वर्षभन्दा  पुराना गाउँमा दिवस मनाउँदै आएका छौँ”, उनले भने, “पोखराको पर्यटनसँग प्रत्यक्ष जोडिएको अन्नपूर्ण आरोहण दिवस मनाउँदै गर्दा प्राचीन महत्वका गाउँ र त्यहाँको घरवासको प्रवद्र्धन पनि सँगसँगै गरिएको छ ।” यस वर्ष अन्नपूर्ण आरोहण दिवसका अवसरमा टान पश्चिमाञ्चलले नेपाल एशोसिएशन  अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सहकार्यमा काठमाडौँबाट पोखरा आउने फ्रान्सेली नागरिकलाई निःशुल्क पर्यटक बसको व्यवस्था गरिएको कार्यक्रम संयोजक धर्मराज पन्थीले जानकारी दिए । आरोहण दिवसकै अवसरमा जुन ३ मा पोखरा आउने फ्रान्सेली नागरिकलाई होटेल एशोसिएशन अफ नेपाल (हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सहकार्यमा बासको निःशुल्क व्यवस्था गरिएको छ । 

अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गरेका हर्जोगकै कारण पोखरासहित अन्नपूर्ण क्षेत्रको गरिमा बढेको विषयलाई दृष्टिगत गरी अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको शालिक स्थापना गरेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण क्षेत्रको समग्र विकास एवम् यहाँको पर्यटन प्रवद्र्धनलाई लक्षित गरी अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गरिँदै आइएको छ । यस पटक पनि घान्द्रुकमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजना गरिएको छ । 

महोत्सवको अवसरमा सोमबार अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । कूल ४२.१९५ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त म्याराथन दौडमा  विदेशीसहित ६० जना सहभागी हुने गुरुङले बताए । पोखरासहित नेपालकै समग्र पर्यटकीय पहिचानको आधारस्तम्भ बनेको अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण क्षेत्रको महत्वलाई कसैले पनि बिर्सन नहुने गुरुङ बताउछन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै