• २०८१ बैशाख ८ शनिबार

वैदेशिक रोजगारीमा १० महिनामा ६४ करोडभन्दा बढीको ठगी

kharibot

काठमाडौं । बाध्यताको रोजगारी बनेको वैदेशिक रोजगारीको नाममा युवाहरु ठगिने क्रम रोकिएको छैन ।  वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तसम्ममा म्यानपावर र एजेन्टले ६४ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको भन्दै विभागमा उजुरी परेको छ । 

चालू आवको १० महिनाको समय अर्थात् वैशाखमसान्तसम्ममा ६४ करोड ६१ लाख ५६ हजार ७ सय २३ रुपैयाँ ठगी भएको भन्दै पीडित युवाहरुले विभागमा उजुरी दिएका छन् । सो रकम ठगी भएको भन्दै विभागमा बिगोदाबी सहित १ हजार ६ सय ४९ वटा उजुरी परेको विभागका निर्देशक भोलानाथ गुरागाईले बताए । उक्त उजुरी व्यक्तिगत र संस्थागततर्फ दुवैका हुन् ।

विभागले ठगीको नियन्त्रणको लागि प्रयास गरे पनि त्यसलाई शून्यमा ल्याउन भने नसकिएको निर्देशक गुरगाईले बताए । ‘हामी व्यक्तिगत र संस्थागत दुवैतर्फको ठगी नियन्त्रणका लागि निरन्तर लागेका छौं ,’ उनले भने । 

निर्देशक गुरागाईका अनुसार उक्त रकम मध्ये व्यक्तिगत तर्फ ४२ करोड १२ लाख २६ हजार ८ सय ८४ रुपैयाँ र संस्थागततर्फ भने २२ करोड ४९ लाख २९ हजार ८ सय ३९ रुपैयाँ ठगी भएको बताए । 

विभाागका अनुसार पीडितहरुले १० महिनाको अवधिमा व्यक्तिगततर्फ ६ सय ५७ उजुरी र संस्थागत तर्फ भने ९ सय ९२ वटा उजुरी विभागमा दर्ता गराएका छन् ।

यसैबीच विभागले उजुरीको आधारमा अनुसन्धान गरी विभिन्न म्यानपावर ,तिनका एजेन्ट, व्यक्तिमार्फत् विगो रकम समेत भराएको छ । १० महिनाको अवधिमा विभागले १३ करोड ८६ लाख ६२ हजार ४ सय ८४ रुपैयाँ बिगो भराएको निर्देशक गुरागाइले बताए । जुन व्यक्तिगततर्फ ५ करोड ५० लाख ४५ हजार ७ सय र संस्थागततर्फ ८ करोड ३६ लाख १६ हजार ७ सय ८४ रुपैयाँ रहेको छ ।

उजुरी रकम र विगो रकम हेर्ने हो भने ठूलो अन्तराल देखिन्छ यसको मूख्य कारण भनेको व्यक्तिगत र संस्थागत दुवै उजुरी विभागमा दर्ता हुन्छ तर सुनुवाई भने संस्थागत मात्र हुने हुदाँ विगो रकममा कमी देखिन गरेको निर्देशक गुरागार्इंले बताए । ‘विभागले संस्थागत उजुरीको रकममात्र विगो भराउने गर्छ भने व्यक्तिगततर्फको विगो रकम भने वैदेशिक रोजगार न्यायाधिकरणले भराउने गर्छ,’ उनले भने ।  निर्देशक गुरागार्इंले पीडितले तलब भत्ता सहितको क्षतिपूर्ति माग गर्ने हुदाँ सबै कानुनी प्रक्रिया नपुग्दा विगो भराउने अवस्था नहुने लगायतको कारणले गर्दा विगो भराएको रकममा कमी देखिन पुगेको बताए । 

यस्तै गत वर्ष संस्थागत  र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशका विभिन्न मुलुकमा काम गर्नका लागि भनेर ४ लाख ५० हजार सर्वसाधारणहरुले श्रम स्वीकृति लिएका छन् । व्यक्तिगततर्फ २ लाख २२ हजार ३ सय र संस्थागततर्फ २ लाख २८ हजार २ सय व्यक्तिले श्रम स्वीकृति लिएका छन् । 

जाहेरी फरफारकको संख्या ३९० वटा रहेका छन् । जसमध्ये अदालतमा दायरमुद्दा १ सय २२ वटा र अदालतमा बिगो दाबी रकम १४ करोड ४९ लाख ५७ हजार ३ सय ७१ रुपैयाँ रहेको छ । धेरै संख्यामा नेपालीहरु विशेष गरी खाडी मुलुक कतार,  साउदी अरब, युएई (दुबाई) जाने गरेका छन् भने यसको साथै कुवेत, दक्षिण कोरिया, जोर्डन लगायतका मुलुकमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

एक महिनामा ९ करोड भन्दा बढी ठगी 

एक महिनाको समयमा व्यक्तिगत र संस्थागततर्फ गरी ९ करोड ६६ लाख ८ हजार ५० रुपैयाँ भन्दा बढी रकम ठगीएको भन्दै उजुरी परेको छ । विभागका अनुसार  व्यक्तिगततर्फ वैशाखमा मात्र ५ करोड ८८ लाख ४५ हजार ५० रुपैयाँ र संस्थागततर्फ ३ करोड १८ लाख २३ हजार रुपैयाँ ठगिएको भन्दै पीडितहरुले विभागमा समक्ष उजुरी दिएका छन् ।

यस्तै व्यक्तिगतर्फ वैशाखसम्म  ४२ करोड १२ लाख २६ हजार ८ सय ८४ रुपैयाँ तथा संस्थागततर्फ २२ करोड ४९ लाख २९ हजार ८ सय ३९ रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ ।

उजुरी परेसँगै विभागले कारबाही पनि अघि बढाएको पाइन्छ जुन उजरीको भन्दा ज्यादै न्यून रकममात्र बिगो भराएको छ । विभागका अनुसार व्यक्तिगततर्फ वैशाखसम्म ५ करोड ५० लाख ४५ हजार ७ सय रुपैयाँ बिगो भराएको छ भने संस्थागततर्फ ८ करोड ३६ लाख १६ हजार ७ सय ८४ रुपैयाँ बिगो भराएको छ ।  

नेपाली कामदारको आर्कषक गन्तव्यको रुपमा रहेको मलेसियामा रोजगारी खुल्न नसक्दा नयाँ मुलुक जाने नाममा र श्रम स्वीकृति लिने नेपालीको संख्या बढेसँगै पीडितहरुको संख्यामा वृद्धि भएको छ ।

एक महिनामा ४८ हजार भन्दा बढीले लिए श्रम स्वीकृति 

विभागका अनुसार वैशाखमसान्तसम्ममा श्रम स्वीकृति लिने कामदारको संख्या ४८ हजार ७ सय २९ जना रहेको छ । जुन गत महिना भन्दा करिब ४ हजार जनाले बढी हो । गत महिना अर्थात् चैतमा ४४ हजार ९ सय ५ जनाले श्रम स्वीकृति लिएको पाइन्छ । यस्तै गत आवमा ३ लाख ५४ हजार ८२ जनाले श्रम स्वीकृति लिएको पाईन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै