• २०८१ बैशाख ८ शनिबार

नेकपाको जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी आज टुंगो लाग्दै 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

उनले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातिर बढेकाले अब टुङ्गिन मात्र बाँकी रहेको बताए ।

“बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो”, उनले भने, “इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ । भोलि (बिहीबार) बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।” उनले बुधबार नै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाउने गरी बैठक बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताले नसकिएको जानकारी गराए । 

“पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउने प्रक्रियामा प्रवेश गर्दा गर्दै पनि समयले साथ दिएन”, उनले भने ।

उनले आज बस्ने बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएपछि समय  बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने जानकारी गराए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै