• २०८१ बैशाख ७ शुक्रबार

कपिलवस्तुमा वन व्यवस्थापनका लागि आठ हजार रुख काटिए

kharibot

कपिलवस्तु । कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो ।

गौतमबुद्ध डिभिजन वन कार्यालयका १० वन क्षेत्रका चार हजार ११.०८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । डिभिजन वन कार्यालय तौलिहवाका २६ वनक्षेत्रका छ हजार ३८४ हेक्टर क्षेत्रफलमा कार्यक्रम शुरु भएको छ । वन क्षेत्रको उचित व्यवस्थापन, वन संरक्षण र वन सदुपयोग गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो ।

यस वर्षको वैशाख मसान्तसम्म डिभिजन वन कार्यालय तौलिहवामा कार्यक्रम लागू भएका २६ सामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा पाँच हजार ५६३ ढलापडा, सुकेका खडा तथा पुनरोत्पादन रुख कटान गरी सङ्कलन गरिएका छन् । यसबाट ८६ हजार ४८९ घनफिट काठ र दाउरा उत्पादन भएको कार्यालयका सहायक वन अधिकृत मदनकुमार सौडन्यले जानकारी दिए ।

यता डिभिजन वन कार्यालय गौतमबुद्धले यस चालू आर्थिक वर्षमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका १० सामुदायिक वनमध्ये नौ सामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा दुई हजार ३२६ ढलापडा, सुकेका तथा पुनरोत्पादन कटान हुने रुख सङ्कलन गरिने र यसबाट एक लाख १२ हजार ६४५.१२ क्युफिट काठ र एक हजार ५५.२४ चट्टा दाउरा उत्पादन हुने अनुमान गरिएको कार्यालयका सहायक वन अधिकृत गणेश चौधरीले जानकारी दिए ।

यस्तै वन कार्यालय तौलिहवाले डिभिजनअन्तर्गतको सामुदायिक वन र साझेदारी वनक्षेत्रबाट उत्पादित काठ, दाउरा, जडीबुटी बिक्री वितरणबाट रु छ करोड ५७ लाख ४५ हजार ३४२ राजश्व सङ्कलन गरेको छ । गौतमबुद्ध डिभिजन चालू आर्थिक वर्षमा स्थापना भई सञ्चालनमा आएकाले हालसम्म डिभिजनअन्तर्गतको वनक्षेत्र र निजी आवादी क्षेत्रबाट उत्पादित वन पैदावार उत्पादन तथा बिक्री वितरणबाट रु ५९ लाख २५ हजार ६५१ राजश्व सङ्कलन गरेकोे छ । वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वनक्षेत्रमा रुखको नक्साङ्कन, रुखको वर्गीकरण समयावधि पुगेका पुराना रुख कटान अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोप्ने गरिन्छ ।

वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रीय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गर्ने गरिन्छ । यसैबीच आगामी आर्थिक बर्षको साउनबाट कार्यालयले इन्टरनेट माध्यमद्वारा मोबाइल डाटा व्यवस्थापन ट्रयाकिङ प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनको काम अघि बढाउने जनाएको छ । जनशक्ति र सवारीसाधनको व्यस्थापन, छिटोछरितो काम गर्नका लागि सो प्रविधि प्रयोग गरी वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम गरिने तौलिहवाका सहायक वन अधिकृत सौडन्यले जानकारी गराए ।

कार्यालयले अनलाइन मोबाइल एप्स तयार पारेर मोबाइल सेटमा सो प्रविधि व्यवस्थापन गरी दिनभर भएका काम फिल्डबाटै इन्टरनेट मोबाइलमा अपडेट हुने व्यवस्था पनि मिलाइने बताइएको छ । सो प्रविधिमार्फत फिल्डमा खटिएका कर्मचारीले इन्टरनेटको माध्यमद्वारा गरेका काम तत्कालै सो एप्समा अपडेट गर्ने र त्यसबाट सम्बन्धित फाँट वा शाखामा गरिएको कामको प्रगति तत्काल थाहा हुने व्यवस्था मिलाइने पनि भएको छ ।

वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूख काट्ने र नयाँ बिरुवा उत्पादन गर्ने गरिन्छ । वैज्ञानिक वन व्यवस्थापनअनुसार कार्य गर्ने हो भने ८० वर्षभित्रमा हाल भएका सबै रुख काटिन्छन् र त्यसको ठाउँमा नयाँ रुख हुर्किसक्ने छन् । वैज्ञानिक वन व्यवस्थापनका पक्षधरका अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्दा वनको अवस्थामा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने, धेरै राजश्व प्राप्त हुने र वन सङ्गठनको छवि सुध्रने र आपसी खिचातानी घट्नेजस्ता प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा प्राप्त हुने बताइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै