• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिको नेपालगञ्ज भ्रमण : सद्भाव र एकताको सन्देश

kharibot

बाँके । सद्भावको शहर नेपालगञ्जमा एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिको जमघट हुन्छ । मुसलमानको चाडपर्वमा हिन्दू र  हिन्दूको चाडपर्वमा मुसलमान सहभागी हुन्छन् । यो नेपालगञ्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो ।

दशैँतिहारजस्ता चाडपर्वमा मुसलमानहरु टीका थाप्न हिन्दूका घरमा पुग्छन् भने मुसलमान समुदायको चाडपर्वमा हिन्दू सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्छन् । नेपालगञ्ज मधेशी, मुसलमान र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो । यहाँ एक हिन्दू धर्मावलम्बी घरबाट पूजा सामग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ ।  त्यस्तै नमाज पढ्न घरबाट निस्केको इस्लाम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो । त्यसमाथि अधिकांश नेपालगञ्जवासी एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकैसाथ नेपाली, थारू र उर्दू भाषा प्रयोग गर्छन् ।   यहाँ दशैँ, तिहार र  होलीजस्तै जितिया, इद र मोहर्रमजस्ता पर्वको रौनक पनि विशेष हुने गर्छ ।

दुई दिनअघि मात्रै मुसलमान समुदायको महत्वपूर्ण पर्व ‘इद उलफित्र’ सकिएको छ । ‘इद उलफित्र’को अन्तिम दिन ‘रोजा इफ्तार’मा पहिलो पटक राष्ट्रप्रमुख नै सहभागी भएपछि सो समुदायले खुशी व्यक्त ग¥यो । मुस्लिम समाज बाँकेका संयोजक अब्दुल वाहिद मन्सुरी चुन्नाले भने, “हाम्रा लागि राष्ट्रप्रमुखको उपस्थिति गौरवमय छ ।” उनले दशैँमा २७ वर्षदेखि टीका थाप्दै आएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ््घका वरिष्ठ उपाध्यक्ष चुन्नाले नेपालगञ्जमा धार्मिक विभेद नभएको बताए । उनले भने, “नेपालगञ्ज सहिष्णुताको अनुपम नमूना शहर हो । यहाँका सबै धर्मका नागरिकहरुले एकअर्कालाई उच्च सम्मान गर्न जानेका छन् । यो नेपालगञ्जका लागि महत्वपूर्ण संस्कार नै भइसक्यो ।”

‘रोजा इफ्तार’मा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनाले मुलुकमै पहिलो पटक सामाजिक एवं धार्मिक सद्भाव र एकताको सन्देश दिएको नेपालगञ्ज–४ का वडाध्यक्ष सफिक बेहनाले बताए । “हाम्रा लागि इद र मोहर्रमजस्तै दशैँ र तिहार पनि प्रिय चाडपर्व हुन् । हामी दशैँ मात्रै होइन, भाइटीका पनि मनाउँछौँ”, उनले भने ।

नेपालगञ्जमा सबै धर्मावलम्बीका चाडपर्वमा सबै समुदायले उल्लासपूर्वक मनाउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, “चाडबाड भनेकै एकापसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हुन् । हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका हौँ । वास्तवमा म आफ्ना चाडपर्वजस्तै अन्य समुदायका चाडपर्व पनि उत्तिकै मन पराउँछु ।”

‘रोजा इफ्तार’मा राष्ट्रप्रमुख नै आएपछि नेपालगञ्जको सामाजिक सद्भाव र एकता थप बलियो बनेको उनको भनाइ छ । ‘इद उलफित्रमा राष्ट्रपतिको उपस्थितिले मुसलमान समुदायमा मात्र नभई देशभर एकता र सद्भावको सन्देश गएको छ । यसले हाम्रो राष्ट्रियता अझ मजबुत छ’ भन्ने सन्देश दिएको छ ।

गुणस्तरीय शिक्षामा जोड

राष्ट्रपति भण्डारीले बाँके बसाइका क्रममा बुधबार वैजनाथ गाउँपालिका–५ को प्रभात माविको कार्यक्रममा सरिक हुँदै बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गरिन् । शैक्षिक चेतनाविना सामाजिक विकृतिलाई चिर्न नसकिने उनको भनाइ थियो ।

व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको उनले औँल्याइन् ।

नखाएको विष

विश्व वातावरण दिवसका अवसर बुधबार नै नेपालगञ्जमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण नेपालीलाई नखाएको विष लागिरहेको बताइन् ।

उनले भनिन्, “हामी प्राकृतिक प्रकोप व्यहोर्न बाध्य छौँ । जलवायु परिवर्तनमा हाम्रो भूमिका न्यून भए पनि हामीले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ ।” स्वच्छ वायु कायम गर्न सबैको साझा दायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ ।”

राष्ट्रिय गौरवका आयोजना निर्माणमा विलम्ब नगरौँ

बुधबार साँझ बाँकेका उद्योगी–व्यवसायी, नागरिक समाजका अगुवा, सांसद तथा पत्रकारसँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले विलम्ब गर्न नहुने बताइन् ।

उनले भनिन्, “राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न सरकारले तदारुकता देखाउनुपर्छ । यसका लागि प्रधानमन्त्रीसँग छलफल गरेर पहल गर्नेछु ।”

सिक्टा सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन परियोजना, जमुनाहा–हिल्सा करिडोर निर्माणजस्ता राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्नुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रपतिको व्यस्तता

श्री एयरलाइन्सको जहाजमार्फत मङ्गलबार अपराह्न नेपालगञ्ज आइपुग्नुभएका राष्ट्रपति भण्डारीले केहीबेरको आरामपछि साँझ ‘रोजा इफ्तार’मा सहभागी भएर शुभकामना दिइन् । नेपालगञ्ज बसाइको दोस्रो दिन बैजनाथमा पुगेर शैक्षिक क्षेत्रको विकासका बारेमा बोलेकी थिइन् ।

तीन दिनदेखि नेपालगञ्जलाई मुकाम बनाएकी राष्ट्रपति भण्डारीले बुधबार अपराह्न विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका बारेमा चासो र चिन्ता व्यक्त गरिन् । त्यसलगत्तै राष्ट्रपति भण्डारीले जिल्ला वन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको बिरुवा रोपिन् ।

राष्ट्रपति भण्डारीले बुधबार साँझ नै यस क्षेत्रका उद्योगी, व्यापारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सङ्घीय तथा प्रदेशसभाका सदस्य, नागरिक समाजका अगुवा र पत्रकारसँग बाँके जिल्लाका विभिन्न विषयमा छलफल गरिन् ।

देखिएन तामझाम

नेपालगञ्जमा उनको सवारीमा खासै तामझाम देखिएन । राष्ट्रपतिको सवारी हुँदा करीब १० मिनेट सडक खाली गराइए पनि नागरिकले आवातजावतका क्रममा असहज महसुस गर्नुपरेन ।

“श्री एयरलाइन्सको १२ः३० बजेको फ्लाइटबाट मङ्गलबार नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीको सवारीका क्रममा कुनै तडकभडक देखिएन । नागरिकलाई असहज नहुने गरी उहाँको सवारी भयो,” बाँकेका प्रजिअ मदन भुजेलले भने ।

“नेपालगञ्जको बसाइसँगै विभिन्न कार्यक्रममा पुग्दा आम नागरिकले कुनै दुःख भोग्नुपरेन,” राष्ट्रपति सचिवालयका सहसचिव दीपा शर्माले भनिन्, “फर्किंदा पनि नागरिकलाई असहज हुने गरी त्यस्तो कुनै तामझाम भएन ।” तीनदिने नेपालगञ्ज बसाइ सकेर राष्ट्रपति भण्डारी आजै श्री एयरलाइन्सको बिहान ९ः३० बजेको फ्लाइटमार्फत काठमाडौँ फर्केकी छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै