• २०८१ बैशाख ८ शनिबार

हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु

kharibot

धनगढी । कैलाली र कञ्चनपुरमा बिहिवार राती आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । अहिलेसम्म कैलालीमा २ जनाको मृत्यु भएको छ भने दुबै जिल्लामा गरी ९९ जना घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिका-२  मा पर्खाल लागेर लाहनु चौधरीको मृत्यु भएको छ । त्यस्तै गोदावरी नगरपालिका-८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको हावाहुरी बर्दिया र दाङतर्फ बढ्ने क्रममा छ । उक्त क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुले बताएका छन् ।

यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अवरुद्ध भएको प्रहरीले जनकारी दिएको छ । हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन् ।

घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ । अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ । हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो ।  

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । 

ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ । जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै