दैत्य अथवा जलपरीको वासस्थान मानिएको ध्वाँसे समुद्रको रहस्य !

खरीबोट

काठमाडौं । हामीले चलचित्रहरुमा समुद्रको डरलाग्दो दृश्य देखेका हुन सक्छौं । समुद्रको नीलो हरियो सतह अचानक धुवाँजस्तो सेतो देखिन्छ र त्यसमा ढलपल ढलपल गर्दै तैरिरहेको डुंगाले सम्भावित खतराको संकेत गर्दछ । यस्तो डरलाग्दो दृश्य वास्तवमै धेरै मानिसले देखेको हुन सक्छन् । 

वास्तवमा समुद्रको एक ठूलो क्षेत्रमा पानी हरियो र नीलो अथवा अस्पष्ट, धुवाँजस्तो सेतो पनि देखिन्छ । राति, चन्द्रमाको किरण परेपछि समुद्रमा देखिने धुवाँको रङ  निकै भयानक लाग्दछ । सबैभन्दा पहिले यसको उल्लेख क्याप्टेन राफेल सेम्मेसले सन् १८६४ मा गरेका थिए । उनको जहाज सीएसएस अलाबामा समुद्रबाट गइरहेको थियो । तब एक स्थानमा पानीमा देखिएको दृश्यले उनी निकै भयभीत भएका थिए । क्याप्टेन राफेलले पानीको बदलिएको रङ देख्दा भगवान्ले नै पानीको रुप बदलिदिएको हो कि भन्ने सोचे । कसैले टाढाबाट यदि त्यसबेला पानीमा तैरिँदै गरेको उक्त जहाजलाई देखेको भए पक्कै पनि यसलाई आफूतिर आइरहेको समुद्री दैत्य भन्ने थिए । 

पहिलेका मानिसलाई मात्र नभई अहिले पनि कतिपय मानिसलाई धमिलो पानीमा समुद्री दैत्य अथवा जलपरी हुने अन्धविश्वास छ । 

समुद्रको पानीको एक ठूलो क्षेत्र ध्वाँसोजस्तो हुनुलाई मिल्की सी अथवा मरिल भनिन्छ । यसको मुख्य कारण समुदको सतहदेखि त्यसको पिँधसम्म फैलिएको ब्याक्टेरिया हो । अर्बौं खर्बौंको संख्यामा रहने ब्याक्टेरिया कारण नै समुद्रको पानीको रङ सेतो धुवाँजस्तो देखिएको हो । 

उन्नाइसौं शताब्दीमा नाविकहरु यस्तो दृश्य देखेर अचम्मित हुन्थे । तर, उनीहरुलाई पानीको रङ परिवर्तन हुनुको कारण भने थाहा थिएन । उनीहरु यसमा कुनै खतरा रहेको ठान्दथे । 

टाढाबाट हेर्दा यो दूधको जस्तो देखिन्छ । त्यसैले यसलाई मिल्की सी भनिएको हो । ब्याक्टेरियाका कारण यस्तो हुन्छ भन्ने त थाहा भइसकेको छ । तर, यस्तो कसरी हुन्छ भन्ने अझै खोजीकै विषय छ । अमेरिकास्थित कोलोराडो स्टेट युनिभर्सिटीका प्राध्यापक स्टिभन मिलर समुद्रमा देखिने ध्वाँसोलाई स्याटलाइटबाट देखिने सेतो ह्वेल भन्दछन् । पहिला स्याटलाइटले यस्तो रङ पहिल्याउन सक्दैन थियो भने हाल स्याटलाइटमा जडान गरिएको सेन्सरले यसलाई देख्न सक्दछ । अब प्रयोग गरिएको सेन्सरले समुद्रमा सानो धब्बा देखिए पनि पहिल्याउन सक्ने उनको भनाइ छ । 

स्टिभन मिलरले सन् १९९५ मा स्याटलाइटबाट एक सुन्दर तस्वीर खिचेका थिए । लीमा नामक जहाजको तस्वीर उनले लिएका थिए । त्यसबेला सोमालियाको नजीकबाट गइरहेको लीमाका क्याप्टेनले टाढा समुद्रमा सेतो दूधजस्तो पानी देखेको उल्लेख गरे । टाढाबाट हेर्दा पानीमा हिउँ जमेको जस्तो देखिएको उनको भनाइ छ । 

मिलरले लीमाका क्याप्टेनको कुरा थाहा पाएपछि स्याटलाइटका तस्वीरहरुको निरीक्षण गरे । स्याटलाइटको तस्वीरमा पनि त्यो दृश्य कैद भएको थियो । यस्तो रङ करीब १५ हजार वर्ग किलोमिटरमा फैलिएको थियो । 

मिलरका अनुसार अहिले पनि धमिलो समुद्रको रहस्यबाट पूर्णरुपमा पर्दा हटिसकेको छैन । हामीले यस्तो दृश्य देखे पनि यसको वास्तविक कारण के हो, यो कसरी बन्छ र किन बन्छ भन्ने थाहा पाउन सकिएको छैन । यसबारेमा अझै धेरै जानकारी प्राप्त गर्नु जरुरी रहेको मिलरको भनाइ छ । मिलरको समूहले अब फेरि समुद्रमा देखिने यस्तो दृश्यलाई स्याटलाइटबाट तस्वीरमा कैद गर्न चाहन्छन् । समुद्रमा यस्ता अन्य धेरै प्रकारका अचम्म लाग्दा दृश्य देख्न सकिन्छ । जस्तै, अमेरिकाको फ्लोरिडाको किनारमा रातो ज्वारभाटा । समुद्रका यस्ता धेरै रहस्यको पर्दाफास गर्नु जरुरी रहेको मिलरले बताएका छन् । वैज्ञानिकहरुलाई समुद्रको भन्दा अन्तरिक्षको बारेमा धेरै जानकारी रहेको नासाको भनाइ छ । 

विश्वमा विज्ञान र प्रविधिको यति विकास हुँदा पनि हामी अझै पनि पृथ्वीको बारेमा निकै कममात्र जान्दछौं । त्यसैले नै समुद्रको डरलाग्दो लहरबीचबाट गुज्रिने नाविकहरु अहिले पनि सबैभन्दा साहसी मानिन्छन् । 

-बीबीसीबाट भावानुवाद  
 

सम्बन्धित समाचार

लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान : मन्त्री बाँस्कोटा

धनुषा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले

छात्रवृत्तिमा अध्ययन गरेकालाई परिचालन गर्न समिति गठन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय

जडीबुटी औषधि विज्ञानको पुनरुत्थान भएको छ : प्रधानमन्त्री ओली 

काठमाडौँ । “हामी एउटा सफलताले ल्याएको खुशीको क्षणमा छौँ । हामी स्वास्थ्य क्षेत्रका, स्वास्थ्य विज्ञानका आदिम रुप धन्वन्तरिदेखि गंगालाल हृदय केन्द्रको नयाँ विशिष्ट सुविधा सम्पन्न आधुनिक कक्ष निर्माणको सफलतासम्म आइपुगेका

सार्वजनिक जग्गाको संरक्षण गर्न प्रविधिको प्रयोग

काठमाडौं । देशभरका सरकारी तथा गुठीका जग्गा मिलेमतोमा बिक्री तथा कब्जा गर्ने प्रवृत्ति बढेपछि सरकारले त्यस्तो गैरकानूनी काम अन्त्य गर्न प्रविधिको प्रयोगलाई जोड दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी


z