• २०८१ बैशाख ७ शुक्रबार

नाइसरले ट्रेस गर्यो समग्र आकाशको एक्स–रे 

kharibot

काठमाडौं । देखिएको चित्रमा असंख्य चम्किला चलायमान रेखा एकआपसमा काटिएको देख्न सकिन्छ । यो चित्र हेर्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । के यो एयर ट्राफिक रूट हो ? अथवा विश्वभर फैलिएको इन्टरनेटको सञ्जाल हो ?

वास्तवमा यो नासाको न्युट्रोन स्टार इन्टेरियर कम्पोजिसन एक्स्प्लोरर (नाइसर) ले रेकर्ड गरेको समग्र आकाशको एक्स–रे हो । नाइसर अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको रहेको एक यन्त्र हो । पृथ्वीको कक्षमा रहेर हरेक ९३ मिनेटमा अन्तरिक्षमा रहेका ऊर्जा स्रोतलाई ट्र्याक गर्नु नै नाइसरको मुख्य लक्ष्य हो । सूर्य अस्ताएर कक्षको बाहिरपट्टि रात परेपछि जब नाइसर एक लक्ष्यबाट अर्को लक्ष्यतर्फ तीव्र गतिमा घुम्न थाल्छ तब नाइसर मिशनका अन्वेषकहरु पनि सक्रिय हुन्छन् । एक्स–रेको रेकर्डका लागि नाइसर कक्षमा आठपटकसम्म घुम्ने गरेको नाइसरमा संलग्न वैज्ञानिकको भनाइ छ । 

यो चित्रमा आकाशीय एक्स–रेको २२ महिनासम्मको तथ्यांक संलग्न छ । नाइसरले एक्स–रे अथवा आकाशीय पिण्ड, ग्रह, ताराहरुको किरणलाई ट्रेस गरी हरेक रेखाको निर्माण भएको हो । त्यस्तै, रातको बेला भएका शक्तिशाली विस्फोटहरु पनि उक्त चित्रमा देख्न सकिन्छ । चित्रमा देखिएका चम्किलो विन्दुहरुको रेखा नाइसरले एक्स–रेलाई पछ्याउँदै उक्त दिशामा खिचेको दृश्यहरुको समायोजन हो । 

नाइसरले प्रायः लक्ष्यको एकै बाटो पहिल्याउने गर्दछ । रेखाहरु एकआपसमा भेटिएको स्थानमा चम्किलो ठूलो विन्दु बनेको छ । उक्त विन्दुहरु नाइसरको प्रमुख लक्ष्य विन्दु हुन् । 

यो सानो प्रक्रिया नै भए पनि यसबाट ९० प्रकाश वर्ष टाढाको ५ हजारदेखि ८ हजार वर्ष पुरानो चम्किला ग्रह र ताराको अवस्थिति कैद भएको बताइएको छ । मिशनका प्रमुख अन्वेषक केइथ जेन्ड्रियुले भने, ‘हामीले वास्तवमै पूरा आकाशको एक्स–रेको दृश्य लिन सफल भएका छौं, नाइसरको रात्रिकालीन सञ्चालनले धेरै प्रकारका अज्ञात स्रोतलाई उद्घाटन गर्ने हाम्रो विश्वास छ ।’

डेड स्टार अथवा न्युट्रन स्टारको आकार कत्रो छ भन्ने पहिल्याउनु पनि नाइसरको अर्को लक्ष्य हो । 

बारम्बार देखिने चम्किलो ताराको अध्ययन पनि नाइसरको अध्ययनको एक पक्ष हो । यसबाट चलायमान तारा अथवा ग्रहको गति र स्थिति पनि पहिल्याउन सकिने बताइएको छ । यो प्रविधिले अन्तरिक्षको अध्ययनलाई एक नयाँ गतिमा अघि बढाउने जेन्ड्रियुको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै