• २०८१ बैशाख १२ बुधबार

कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

kharibot

काठमाडौँ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।

शनिबारको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाइ गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको उनले जानकारी दिए । 

 भाषा परीक्षा आइतबार पनि सञ्चालन हुनेछ । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । 

भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै