• २०८१ बैशाख ७ शुक्रबार

मछिन्द्रनाथको जात्रा सम्पन्न

kharibot

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ बालकुमारीमा शनिबार साँझ थिमिको मच्छिन्द्रनाथ अर्थात् लोकेश्वर करुणामयको जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष सिथि नखःको दिन साँझ मनाइने उक्त जात्रा भव्यरूपमा मनाइएको हो । 

मर्मत तथा सफाइका लागि हरेक वर्षझैँ यस वर्ष पनि गत सोमबार मन्दिरबाट झिकेर मध्यपुर थिमि नपा–६ गार्चास्थित जिस्वाँ बहाल लगिएको थिमिको रातो मच्छिन्द्रनाथको रूपमा रहेको लोकेश्वर करुणामयको मूर्तिलाई सिथिः नखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्राण प्रतिष्ठान गरी प्रस्थिापन गरेपछि साँझबाट जात्रा शुरु भएको मन्दिरका पुजारी धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । 

मूर्तिको गरगहना सबै निकालेर सेतो कपडाले बेरेर लगिएको मूर्तिमा रङरोगन र मर्मत गरी नयाँजस्तै बनाएर चार दिशाबाट ल्याएको पवित्र जलले लोकेश्वरलाई दूध, घ्यू, महलगायतले महास्नान गरी  सिथिः नखःको अघिल्लो दिन लोकेश्वरको मूर्तिलाई दश कर्म विधिद्वारा तान्त्रिक रूपमा पूजा गरी प्राण प्रतिष्ठा गरेपछि जात्रा मनाउने परम्परा छ । 

मूर्तिलाई सिथिःनखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा रहेको बज्राचार्यले जानकारी दिए । काठमाडौँ उपत्यकामा भएका ललितपुरको रातो मच्छिन्द्रनाथ, काठमाडौँ जनबहालको सेतो मच्छिन्द्रनाथ, चोभारको आदिनाथलाई जस्तै थिमिको लोकेश्वरको मूर्तिलाई पनि वर्षको एक पटक प्राण प्रतिष्ठान गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको उनको भनाइ छ ।

थिमिमा बज्रार्चायहरुको बसोबास नेपाल संवतको ६०० वर्षमा भएकाले यो परम्परा पनि सोही बेलादेखि शुरु भएको विश्वास गरिएको जानकारी दिँदै उनले जात्रा कहिलेबाट शुरु भयो भन्ने यकिन तथ्याङ्क भने नभएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै