• २०८१ बैशाख ७ शुक्रबार

विपद् व्यवस्थापन र पुनःनिर्माणसम्बन्धी सम्मेलन सोमबारदेखि

kharibot

काठमाडौँ । विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ । 

सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका स्थानीय तहका जनप्रतिनिधि र विज्ञको सहभागिता रहनेछ । सम्मेलनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणका उपलब्धि र त्यसको दिगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको पनि सम्मेलनमा प्रस्तुति रहने जनाइएको छ । 

विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरुपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । 

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी अधिकृत विमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त गरेको उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्य राखिएको बताए । 

मङ्गलबारसम्म हुने सम्मेलनको आयोजना प्राधिकरण, महासङ्घ, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै