• २०८१ बैशाख ४ मंगलबार

पोखरामा हालसम्मै ठूलो खानेपानी आयोजना अघि बढाइँदै

kharibot

काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजना समस्या देखिए पनि सरकारले पर्यटकीय राजधानी कास्कीलाई केन्द्रमा राखेर बृहत् खानेपानी आयोजना अगाडि बढाउने भएको छ । 

खानेपानी मन्त्रालयले कास्कीमा अगाडि बढाउन लागेको सो परियोजनालाई मेलम्ची पछिको सबैभन्दा ठूलो आयोजनाको सङ्ज्ञा दिएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । खानेपानीमन्त्री बीना मगरले उक्त आयोजनाको शिलान्यास यही जेठ २८ गते गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्रालयले उपत्यका बाहिर शुरु गर्न लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्चीपछि मन्त्रालयको खानेपानीको क्षेत्रमा शुरु हुन लागेको यो दोस्रो ठूलो आयोजनाका रुपमा अथ्र्याएको छ । आयोजनाले पोखरा महानगरपालिका क्षेत्रभित्र दैनिक चार लाख ५० हजार उपभोक्ता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । 

आगामी तीन वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना शुरु गर्न जापान सरकारले नेपाललाई रु चार अर्ब ८१ करोड अनुदान दिने सम्झौता यसअघि नै भएको छ । सोही सम्झौताअनुसार खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको हो ।  

जापानले दिएको कूल अनुदान रकममध्ये रु चार अर्ब २१ करोडमा भौतिक निर्माण  कार्यका लागि जापानमै बोलपत्र गरिएको थियो । उक्त बोलपत्रमा हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले गत फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले रु तीन अर्ब  ९४ करोड २७ लाखमा उक्त कामको ठेक्का पाएको छ ।  

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा भूपेन्द्र प्रसादले जानकारी दिनुभयो । अनुदान रकम पानी शुद्धीकरणका लागि शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुनेछ । 

यस्तै खानेपानी आपूर्तिका लागि कूल १०० किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको तीन वटा रिजर्भवायर पानी ट्याङ्की निर्माण गरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै