• २०८१ बैशाख ११ मंगलबार

आफैसँग डेट अनि रोमान्स गर्छन् अटोसेक्सुअल

kharibot

काठमाडौं । जो आफ्नो शरीरप्रति नै आकर्षित हुन्छन् र आफ्नो शरीरलाई हेरेर नै आफूलाई यौन आनन्द दिन सक्छन्, त्यस्ता व्यक्तिलाई विज्ञानले अटोसेक्सुअल भन्ने नाम दिएको छ ।

यस्ता मानिस गे अथवा लेज्बियन अर्थात् समलिंगी पनि होइनन् । यस्ता व्यक्तिका लागि अटोसेक्सुअल शब्दको प्रयोग गरिन्छ । यस्ता व्यक्तिहरू महिला अथवा पुरुष कुनै पनि लिंगका व्यक्तिप्रति आकर्षित हुँदैनन् । यस विषयमा हाल त्यति धेरै अनुसन्धान भएको छैन । त्यसैले अटोसेक्सुअल शब्दको स्पष्ट परिभाषा छैन ।

सन् १९८९ मा यो शब्दको पहिलोपटक प्रयोग यौन चिकित्सक बर्नाड एपेलबाउमले एक पत्रिकामा उल्लेख गरेका थिए । उनले यो शब्द अन्य व्यक्तिप्रति आकर्षित नहुनेहरुका लागि प्रयोग गरेका हुन् । तर, हाल यो शब्दको प्रयोग आफ्नो शरीरप्रति सेक्सुअल्ली आकर्षित हुनेहरुका लागि गरिन्छ ।

आफैसँग डेट, आफैसँग रोमान्स

मोडर्न सेक्सुआलिटी : द ट्रुथ अबाउट सेक्स एन्ड रिनेशनशिपका लेखक माइकल आरोनका अनुसार आफूलाई हेरेर आफूप्रति आकर्षित हुनु साधारण कुरा हो । तर, केही मानिस अन्य साधारण मानिसको तुलनामा आफूलाई हेरेर र आफूलाई छोएर उत्तेजित महसूस गर्छन् । यस्ता व्यक्तिलाई नै अटोसेक्सुअल भनिने आरोनको भनाइ छ ।

आफूलाई देखेर आफै उत्तेजित हुने यस्ता व्यक्तिलाई समाजमा निर्सिस्ट अथवा आफूलाई धेरै प्रेम गर्ने र आफैमा मुग्ध हुने बताइन्छ । लन्डन युनिभर्सिटीकी प्राध्यापिका डा. जेनिफर म्याकगोभनका अनुसार नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरका व्यक्तिमा सहानुभूतिको कमी, प्रशंसाको आवश्यकता अथवा आफूलाई लिएर धेरै भावनात्मक लक्षण हुन्छन् । तर, अटोसेक्सुआलिटीको कुरा नै अलग रहेको म्याकगोभनको भनाइ छ ।

डा. जेनिफर भन्छिन्, ‘अटोसेक्सुअलहरु आफूसँगै यौनिक क्रियाकलापमा धेरै आनन्दित महसूस गर्छन्, अटोसेक्सुआलिटीको सहानुभूति अथवा प्रशंसाको कमीसँग कुनै सम्बन्ध छैन ।’

अन्य मानिसमा झैं अटोसेक्सुअल व्यक्तिमा पनि यौनको अलगअलग स्तर देखिएको केही विशेषज्ञको धारणा छ । केही व्यक्ति अटोसेक्सुअल हुनुका साथै अटोरोमान्टिक पनि हुन्छन्, उनीहरु आफैसँग डेटका लागि सुन्दर मौसममा भ्रमणका लागि निस्किन्छन् ।

यस्ता व्यक्तिलाई साधारण मानिसबीच यौन सम्बन्ध हुँदा जस्तो अनुभूति हुन्छ, त्यस्तो हुँदैन । उनीहरु त्यसको पूर्ण अनुभूति अथवा आनन्द लिन नै सक्दैनन् । यौनको विषयमा यिनीहरु नितान्त फरक हुन्छन् ।

यस्ता व्यक्ति अन्य मानिससँग सम्बन्धमा रहे पनि आफूसँग जस्तो महसूस गर्छन्, अन्यसँग त्यस्तो महसूस गर्न सक्दैनन् ।

त्यसैले जसरी गे (पुरुष समलिंगी) अथवा लेज्बियन (महिला समलिंगी) आफ्नै समान लिंगीसँग आनन्दको महसूस गर्छन्, त्यसरी नै अटोसेक्सुअलहरु पनि फरक हुन् । उनीहरु आफैसँगमात्र आनन्दित रहन सक्छन् । यद्यपि, यस विषयमा अझै धेरै खोज हुनु आवश्यक रहेको डा. म्याकगोभनको भनाइ छ ।

बीबीसीबाट भावानुवाद  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै