• २०८१ बैशाख १३ बिहीबार

वैदेशिक रोजगारको स्वास्थ्य परीक्षणकालागि ५१ वटा संस्थाहरु सूचीकरण 

kharibot

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्थाहरु सूचीकृत भएको जनाएको छ । 

मन्त्रालयका अनुसार कुल १२६ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणका लागि इच्छुक रहेको भन्दै निवदेन दिएका थिए । मन्त्रालयले मापदण्ड पुरा गरेका ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेसँगै बाँकी ७५ वटा स्वास्थ्य संस्था भने सूचीकरण हुन नसकेको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए । ‘७५ वटा स्वास्थ्य संस्थाहरु मापदण्ड पुरा नगरेका कारण सूचीकरण हुन नसकेका हुन्,’ उनले भने ।

स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल देखि लिएर क्लिनिकसम्मले आवदेन परेको थियो भने छनौट हुनेमा पनि ठूला अस्पताल देखि लिएर क्लिनिकसम्म रहेको छ । 

स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोलीले स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो ।  चारवटा मध्ये तीन वटा टोलीले उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा गएको थियो भने एक टोलीले उपत्यकामा निरीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत शुक्रबारको निर्णय बमोजिम वैदेशिक रोजगार नियमावली , २०६४ को नियम ४५ (क) को उपनियम (५) तथा वैदेशिक रोजगारमा जाने उपदफा (८) बमोजिम ५१ वटा संस्थाहरु सूचीकरण गरेको जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सीमित स्वास्थ्य संस्थाको एकाधिकार रहेको भन्दै मन्त्रालयले गत चैत १३ गते सम्बन्धित नियकायमा दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई सूचीकरण लागि आह्वान गरेको थियो । 

यस अघि २२६ स्वास्थ्य संस्थाले मात्र कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । सरकारले पछिल्लो पटक २०७१ सालमा २२६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षण गर्न स्वीकृति प्रदान गरेको थियो ।

यस्तै सूचीकरण भएका संस्थाहरुले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ को उपनियम (६) बमोजिमको धरौटी र सूचीकरण शुल्क जम्मा गरी सो को सक्कल भौचर सहित मन्त्रालयमा सूचीकरणको पत्रको लागि सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै