• २०८१ बैशाख ८ शनिबार

काठमाडौं महानगरद्धारा १८ हजारभन्दा बढी भवन निर्माणको लागि स्वीकृति प्रदान

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो ६ वर्षको समयमा १८ हजार भन्दा बढी भवन निर्माणको लागि स्वीकृति दिएको छ ।  

महानगर अन्र्तगतको भवन निर्माण तथा इजाजत विभागले ६ वर्षको समय अर्थात् २०७० देखि वैशाखमसान्तसम्म १८ हजार १ सय ५३ वटा भवनको नक्सा पास गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले खरीबोटलाई बताए ।

महानगरले चालू आर्थिक वर्षको वैशाखमसान्तसम्म १ हजार ७ सय ८२ वटा भवनको नक्सा पास भएको विभागले जनाएको छ । विभागका अनुसार १ हजार ७ सय ८२ वटा भवनको नक्सा पास मध्ये ५ सय ३३ वटा भवन निर्माण सम्पन्न भएको जनाएको छ । 

यस्तै विभागले आव ७४÷७५ मा २ हजार १ वटा,  आव ०७३÷७४ मा ३ हजार ७ सय १६ वटा , ७२÷७३ मा २ हजार ८ वटा भवनको नक्सा पास गरेको जनाएको छ ।

विभागले यस्तै आव , ७१÷७२ मा ३ हजार १ सय ७५ वटा, ७०÷७१ मा २ हजार २ सय ५३ वटा, ६९÷७० मा २ हजार २ सय ५३ वटा घर तथा भवनको नक्सा पास गरेको थियो । 

प्रवक्ता डंगोलका अनुसार भूकम्प गए पछि मात्र ३ हजार भन्दा बढी भवन निर्माणको लागि महानगरले स्वीकृति दिएको बताए । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । 

भूकम्प गएयता मात्र १४ हजार ९ सय ७७ घर तथा भवनको नक्सा पास गरेको महानगरपालिकाले आव २०७२-७३ मा २ हजार ५ सय ६३ घर तथा भवन निर्माणको लागि नक्सा पास गरेको उनले बताए । प्रवक्ता डंगोलले भूकम्प पछि महानगरका खुल्ला क्षेत्रमा गएर भवन बनाउने क्रम बढेको बताए । ‘ हाल महानगरका १९, २० तथा २४ वडामा घर तथा भवन निर्माण कार्य बढेको छ , ’उनले भने । 

यस्तै महानगरले भवन निर्माण सम्पन्न भयो भनेर अनुगमन समेत गर्ने जनाएको छ । ‘अनुगमनको अधिकारी महानगरको वडालाई रहेको छ शंका लागेको खण्डमा अनुगमन गर्छ,’ प्रवक्ता डंगोलले भने । 

महानगरले उपलब्ध गराएको तथ्यांक अनुसार महानगरले २०५४-५५ देखि नक्सा पासको विवरण राखेको देखिन्छ । तथ्यांक अनुसार ५४-५५ मा महानगरले जम्मा २ सय २१ वटा नक्सा पास गरेको देखिन्छ । त्यसपछि महानगर क्षेत्रमा घर तथा भवन निर्माणको लागि नक्सा पास गर्नेको संख्या क्रमिक रुपमा बढ्दै गएको पाईन्छ । 

तथ्यांक अनुसार ६५-६६ मा ४२०१, ६६-६७ मा ३१२१, ६७-६८ मा २८४२ , ६८-६९ मा २५१७, भवनको नक्सा पास गरेको छ ।  

यस्तै महानगरपालिकाले नगरसभा मार्फत् भवन निर्माणको लागि भनेर निर्माण सम्वन्धी कार्यवीधि २०७५ निर्माण गरेको छ । नयाँ कार्यवीधि अनुरुप महानगर क्षेत्रमा घर तथा भवन निर्माणको लागि सहज भएको छ । नयाँ कार्यवीधि अनुसार महानगर क्षेत्रमा भवन निर्माण तथा तला थप गर्दा पहिलेको जस्तो पटक–पटक गरी महानगरबाट स्वीकृति लिनुपर्ने छैन । 

यसअघि अस्थायी (जग राख्न ) , स्थायी(भूँइतला) र तलाथपका लागि स्वीकृति लिने व्यवस्था थियो नयाँ कार्यवीधि अनुसार नक्सा पास गरेसँगै आवश्यकता अनुसारको तला राखी भवन निर्माण गर्न सक्नेछन् । महानगरबासीले हाल भवनको निर्माणको लागि (ईबिपीएस) अर्थात् इलोक्ट्रोनिक बिलडिङ परमिट सिष्टम अनलाईन मार्फत् नक्सा विभागमा पठाउन सक्छन् । यो सँगै उनीहरुले नक्सा पास भयो भएन भनि जानकारी वडा गएर लिन सक्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै