• २०८१ बैशाख १२ बुधबार

माइतीघरमा प्रहरीको बल प्रयोग कानुन अनुसार – गृहमन्त्री थापा 

kharibot

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार काठमाडौँको माइतीघरमा प्रहरीको बल प्रयोग कानुन अनुसार नै भएको दाबी गरेका छन् ।

राष्ट्रिय सभामा सार्वजनिक महत्वको विषयमा जानकारी दिदै गृहमन्त्री थापाले प्रदर्शनकारी सडकमा सुतेर आवागमन अवरुद्ध गरेको, प्रहरीमाथि ढुंगा हानेकोले स्थिति सहज बनाउन प्रहरीले बल प्रयोग गरेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले घटनाको विषयमा प्रहरीले छानबिन गरिरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रहरीले बल प्रयोगको सिद्धान्त अनुसार नै बल प्रयोग गरिएको बताउदै गृहमन्त्री थापाले पानीको फोहोराले भिड नहटेपछि सामान्य बल प्रयोग भएको बताए ।    

उनले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा प्रचलित कानुन, सार्वजनिक हित र नागरिकको कर्तव्यको समेत ख्याल गर्न सबैलाई अपिल समेत गरेका छन् ।

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विभिन्न गुठीसँग सम्बन्धित संघसंस्थाहरुले माइतीघरमा प्रदर्शन अग्रेका थिए ।

आइतबारको घटनामा नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो । गृहमन्त्रीले उनीहरुलाई पक्राउपछि छोडिएको राष्ट्रिय सभामा जानकारी दिएका छन् ।  
आन्दोलनका क्रममा सजीव बज्राचार्य र महेश कारञ्जित घाइते भएका थिए । 

नेवा राष्ट्रिय मुक्ति मोर्चाका नमस्ते सायमीका अनुसार शान्तिपूर्ण आन्दोलन गरिरहेका माथि प्रहरीले बल प्रयोग गरेको थियो । राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकमा गुठीको नाममा रहेको अमूल्य जग्गा समाप्त पार्ने नीति भएको भन्दै सरोकारवाला आन्दोलनमा उत्रेका हुन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै