• २०८१ बैशाख ८ शनिबार

बृहस्पति पृथ्वीको अत्यन्त नजीक, बाइनोकुलरले स्पष्ट देख्न सकिन्छ यसका उपग्रह

kharibot

काठमाडौं । राति बाहिर जानुहोस् । ताराहरुमध्ये चम्किलो र केही ठूलो तारालाई हेर्नुहोस् । त्यो बृहस्पति हो । यो महिना विशाल ग्यासीय पिण्ड बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । नासाले अन्तरिक्षप्रेमीहरुलाई पृथ्वीको अत्यन्त नजीक आएको विशाल ग्यासीय पिण्ड बृहस्पति र त्यसका उपग्रहलाई हेर्न आग्रह गरेको छ ।

यसलाई नांगो आँखाले स्पष्ट हेर्न सकिन्छ । जुन १० मा पृथ्वी बृहस्पति र सूर्यको ठीक बीचमा पुगेको नासाले बताएको छ । अर्थात् बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । यसलाई राति धेरै बेरसम्म आँखाले स्पष्टसँग देख्न सकिन्छ । यस्तो दृश्य देख्ने अवसर करीब जुनभरि पाइने बताइएको छ ।

सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह यो समयमा नांगो आँखाले नै निकै स्पष्ट देख्न सकिन्छ । बाइनोकुलर र साना टेलिस्कोपको सहायताले यसलाई अझै स्पष्ट देख्न सकिन्छ । बृहस्पतिका चार ठूला उपग्रह पनि यस समय स्पष्ट देख्न सकिने नासाले उल्लेख गरेको छ । त्यस्तै, ग्रहलाई गोलाकारमा घेरिरहेको बादलका केही संकेत पनि देख्न सकिने नासाको भनाइ छ ।

यदि प्रकाशको प्रदूषण कम भएको स्थानमा रहने हो भने यो महिना बृहस्पतिका उपग्रहहरुलाई बाइनोकुलरको सहायताले अन्य समयको भन्दा स्पष्ट देख्न सकिनेमा नासाले जोड दिएको छ ।

यदि बृहस्पतिको अवलोकन गर्दा मिस्टर ह्यांकेलाई देखियो भने हात हल्लाउन नभुल्न समेत आग्रह गरिएको छ । (नासाको अन्तरिक्षयान जुनोले गत जनवरीमा खिचेको तस्वीरमा बृहस्पतिमा बादलहरुको थुप्रोको आकृति एक धारावाहिक एनिमेटेड चलचित्र मिस्टर ह्यांकेका प्रमुख पात्र मिस्टर ह्यांकेजस्तै देखिएको थियो ।)  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै